काठमाडौँ । आगामि चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा उज्ज्वल खड्काले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही विद्यार्थी मुद्दाहरूमा केन्द्रित रहेर काम गर्ने उद्देश्यका साथ खड्काले उम्मेदवारी दिन लागेका हुन् । त्रिविको सुधार र शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने एजेन्डासहित चुनावी मैदानमा उत्रिन लागेका खड्कालाई सक्षम उम्मेदवारको रूपमा हेरिएको छ ।
खड्का विद्यार्थीका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका नेताको रूपमा परिचित छन् । उनी पदमा रहँदा मात्र नभई पदबाहिर हुँदा पनि विद्यार्थीहरूको समस्याप्रति संवेदनशील रही समाधानका लागि लागिपर्ने स्वभावले उनीप्रति विद्यार्थीहरूको भरोसा बढेको छ ।
क्याम्पसमा देखिएका प्रशासनिक अव्यवस्था, शैक्षिक गुणस्तरको कमी र भौतिक पूर्वाधारको अभावजस्ता विषयमा उनले आवाज उठाउँदै आएका छन् । खड्काले राजनीतिक दबाबको विरोध गर्दै स्वतन्त्र विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएका छन् । त्रिविमा बिना नेपालको उच्च–शिक्षामा सुधार सम्भव छैन भन्ने उनको धारणा छ ।
यही एजेन्डालाई चुनावी मुद्दा बनाएर उनी सभापतिमा उम्मेदवारी दिन लागेका हुन् । खड्काले दलीयकरणको चपेटामा परेको विश्वविद्यालयलाई सुधार गरी शैक्षिक गुणस्तरमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्रिविमा देखिएका शैक्षिक समस्या समाधानका लागि उनले व्यावहारिक समाधानको खाका तयार पारेको बताउँदै भने, ’अबको केही दिनमा योजना र कार्यक्रमसहित प्रस्तुत हुने जानकारी गराउन चाहन्छु।’
शैक्षिक सुधारको एजेन्डामा अडिग रहँदै उनी दलीय पूर्वाग्रहबाट मुक्त रही स्वतन्त्र रूपमा उम्मेदवारी दिन लागेका हुन् । त्रिविका विद्यार्थीहरूले उनलाई परिवर्तनकारी नेताका रूपमा विश्वास गरेका छन् ।
‘राजनीतिक पूर्वाग्रहका कारण विद्यार्थीहरूको भविष्यमा असर परेको छ,’ उनी भन्छन्, ’अब दलगत राजनीतिलाई शिक्षण संस्थामा प्रवेश हुन दिनुहुन्न।’
खड्काले उम्मेदवारी घोषणा गरेपछि त्रिवि केन्द्रिय क्याम्पसका विद्यार्थीहरूमा उनको समर्थन देखिएको छ । विशेषतः स्वतन्त्र विद्यार्थीहरूको समूहले उनलाई खुलेर समर्थन जनाइरहेका छन् ।
चुनावको मिति नजिकिँदै गर्दा उनका प्रतिस्पर्धी उम्मेदवारहरूलाई टक्कर दिने खड्काको तयारी र योजनाले क्याम्पसको चुनावी माहोललाई थप रोचक बनाउने देखिन्छ ।





























प्रतिक्रिया