पोखरा । जब अर्थमन्त्री विष्णु पौडेलले स्विच थिचेर पोखरा प्रदर्शनी केन्द्रमा आयोजित पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गरे तुरुन्तै मन्त्रीको हातबाट बेलुन उडाने कार्यक्रम उद्घोष गरियो ।
कार्यक्रम स्थलमा उद्घाटन गरेलगत्तै अर्थमन्त्री पौडेल मञ्चतर्फ फर्किन लागेका थिए, तर उनलाई मेयर आचार्यले तानेर ल्याएर पोखरा भ्रमण वर्ष २०२५ लेखिएको ब्यानरसहितको बेलुन उडाउन लगाए ।
त्यतिबेला सम्म अर्थमन्त्री पौडेलसहित पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरका मेयर धनराज आचार्य सहभागी थिए ।
त्यसपछी अर्थमन्त्रीलाई एउटा बेलुन दिएर मेयर आचार्यले अर्को बेलुन आफ्नो हातमा ल्याए । अनि दुवै जना बेलुन उडाउन तयार गर्दै अगाडि बढ्न लागे । त्यतिबेलासम्म उद्घाटनका क्रममा बालेको ‘फायर वर्क्स’ बलिरहेको थियो । मेयरले ल्याएको बेलुन अचालनक त्यही फायर वर्क्समाथि पर्न पुग्यो र बेलुन पड्कियो ।
अनि बेलुन भित्र भएका ग्याँस तथा आगोले फुटेको बेलुनका टुक्रा मेयर आचार्य र अर्थमन्त्री पौडेलको अनुहारमा परे । मेयर आचार्यले अत्तालिँदै तलतिर झरे । अर्थमन्त्री पौडेल भने दौड्दै स्टेजमा पुगे ।
त्यसपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगियो । मेयर आचार्यलाई फिस्टेल हस्पिटल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज लगिएको थियो । स्थानीय अस्पतालबाट दुवैलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
अहिले मन्त्री पौडेल र मेयर आचार्यलाई किर्तिपुरमा रहेको वर्न अस्पतलमा भर्ना गरिएको छ ।
अर्थमन्त्रीको अनुहारमा सामान्य घाउ र मेयर आचार्यको गालामा चोट लागेको छ । प्रमुख अतिथि अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भए पनि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।









































प्रतिक्रिया