काठमाडौं
हिजो ढिलो गरी शुरू भएको महासमिति बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि जिल्ला सभापतिहरूले धारणा राख्ने क्रम जारी छ । आज आइतबार केही जिल्ला सभापति र महासमिति सदस्यहरूले विधान प्रस्तावमाथि धारणा राखेपछि साँझ महासमिति बैठक समापन गर्ने तयारी भइरहेको छ ।
केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएर आएको विधान प्रस्तावमाथि जिल्ला सभापति र महासमिति सदस्यहरूले केही बुँदामा असहमति राखे पनि विधानमा तलमाथि केही नगर्ने सभापति शेरबहादुर देउवाले स्पष्ट पार्नुभएको छ । शनिबार महासमिति बैठक शुरू हुनुपूर्व कांग्रेस जिल्ला सभापतिसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायतसँग भएको छलफलमा सभापति देउवाले केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएको विधानको कुनै पनि बुँदा परिवर्तन नगर्ने स्पष्ट पार्नुभएको हो ।
विधान संशोधन प्रस्तावमाथि महासमिति बैठकमा छलफल हुनुअघि बसेको जिल्ला सभापतिसहित संस्थापन पक्ष र पौडेल पक्षको छलफलमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले एकले अर्कोलाई आरोप प्रत्यारोप पनि गरेको सहभागी एक जिल्ला सभापतिले जानकारी दिए ।
कांग्रेस केन्द्रीय समितिले ल्याएको विधान संशोधन प्रस्तावमा समावेशी सिद्धान्तको आधारमा आठ सहमहामन्त्रीसहित एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक कोषाध्यक्ष राख्ने व्यवस्था छ । जसमध्ये कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनुपर्छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया