पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस !

पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ ? कपाल रंगीन नबनाउनुहोला । नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला नि । म्हेन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन् । एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै ।

बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभाग पुगिन् । फोटो खिच्ने लाइनमा बस्दा एक कर्मचारीले उनको खैरो कपाल हेर्दै भने, ‘कपालमा कालो लगाएर आउनुस् है, यस्तो कपालमा हुँदैन ।’

अमेरिकाबाट फर्केकी पाठकलाई त्यहीको कर्मचारीले प्रहरीको क्यान्टिनमा गएर जुत्तामा लगाउने पालिसले कपाल कालो बनाउन सुझाए । आक्रोश भावमा उनले भनिन्, ‘यस्तो नियम कतै छैन, कति तनाव दिएका ?’

रामेछापकी सुनिता लामाले पनि त्यस्तै समस्या झेलिन् । उनको कपाल खैरो थियो । निधारमुनिसम्म काटेको खैरो कपालमा पुगेकी लामा उसरी नै प्रहरी क्यान्टिन पुगिन् । भन्दै थिइन्, ‘कस्तो दिक्क लाग्यो, यो नियम । थाहा पाएको भए पहिले नै कालो बनाउने थिएँ ।’

क्यान्टिनमा मःमः बनाउँदै गरेकी साहुनीले कालो पालिसको बट्टा र एउटा दाँत माझ्ने ब्रस हातमा थमाइन् । पाठक र लामा दुवैले रबरले कपाल बाँधे । देखिनेजति रातो कपालमा कालो बुटपालिस लगाए । यसरी कपाल रंगाएबापत प्रतिव्यक्ति सय रुपैयाँ तिर्नुपर्ने रहेछ । पाठक र लामा दुवैले सय रुपैयाँ तिरे । बाँकी रहेको पालिस आफैसँग ल्याए ।

जिल्लाबाट सिफारिस लिएर राहदानी विभाग पुगेका सेवाग्राहीहरू सूचना नभएका कारण यस्ता समस्या झेलिरहेका थिए । जोरपाटीकी शेर्पाले भनिन् ‘पहिले पासपोर्ट बनाउँदा यस्तो नियम थिएन । नियमबारे प्रचारप्रसार भएको भए सेवाग्राहीले दुःख पाउने थिएनन ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo