काठमाडौं । भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकारले कूटनीतिक पहल बढाउने भएको छ ।
भारतमा अध्ययन गर्दै गरेकी नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएपछी असुरक्षाको अनुभूति गर्दै सरकारले यस्तो कदम अगाडि बढाएको हो ।
मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकमा बुटवलकी प्रकृति लम्सालको ओडिसामा मृत्यु भएपछि सिर्जित परिस्थितिलाई सूक्ष्म निगरानी गर्दै नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टीका लागि कूटनीतिक पहल बढाउनेबारे छलफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका अधिकारीहरुले आपसी समन्वयमा समस्या समाधानको पहल गरिरहेको जानकारी गराएका थिए । र, समस्या समाधानउन्मुख भएको बताएका थिए ।
नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने निष्कर्ष निकालिएको थियो । बैठकमा प्रधानमन्त्रीले प्रकृति लम्सालको मृत्युका सम्बन्धमा अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि आवश्यक कदम चाल्न ठीक हुने बताएका थिए ।
ओडिसाको भुवनेश्वरस्थित कलेजमा बी.टेक तेस्रो वर्षमा अध्ययन गर्ने रूपन्देही स्थायी घर भएकी लम्साल आइतबार होस्टेलको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
सो घटना छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीहरुमाथि कुटपिट गर्दै कलेज प्रशासनले निस्कासन गरेपछि स्थिति तनावपूर्ण भएको थियो । नेपाल सरकारको पहलपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई कलेज फर्किन आह्वान गरेको थियो ।































प्रतिक्रिया