धनगढी
पुल नहुँदा बर्खामा त दुःख हुनु स्वाभाविकै हो हिउँदमा समेत पुल नहुँदाको पीडा भोग्नु पर्दाको अवस्था कस्तो होला ? धेरै नदीनाला बग्ने जिल्लाका रूपमा ख्याति कमाएको कैलाली जिल्लामा हरेक बस्तीले यस्तै पीडा भोग्नु परिरहेको छ ।
पुल नहुँदा बर्खामा जोखिमपूर्ण यात्रा गर्दै आएको स्थानीयलाई मोहना नदी पार गर्न हिउँदमा पनि काठे पुलको भर पर्नुपर्ने बाध्यता रहेको छ । नदीमा पुल बन्न नसक्दा कैलालीस्थित कैलारी गाउँपालिका लगायत आसपासका स्थानीयलाई हिउँदमा काठे पुल तर्नुपर्ने बाध्यता रहेको हो ।
स्थानीय बासिन्दा काठको पुलमा शुल्क तिरेर मोहना नदी वारपार गर्दै आएका छन् । नदीको किनारमा मान्छे डुब्ने गहिराइ भएकोले कैलारी गाउँपालिकास्थित खोनपुर, निमुवाबोझी, मोहनपुर र गोबरैला गरी चार घाटमा काठे पुल बनाइएको छ । स्थानीयले काठे पुल तरेबापत प्रतिव्यक्ति १५ र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्नु परिरहेको छ । मोटरसाइकल चढेर काठे पुल तर्ने व्यक्तिले ३५ रुपैयाँ शुल्क तिर्नु परेको छ ।
नदीमा पुल नभएकाले आफूहरू वर्षदिनदेखि नै यसरी शुल्क तिरेर मोहना नदी वारपार गर्दै आएको कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियाकी नीलमकुमारी चौधरीले बताउनुभयो । ठेकेदारले व्यक्तिको मात्रै १५ रुपैयाँ शुल्क लिनु हामी जस्ता सर्वसाधारणका लागि महँगो हो, उहाँले भन्नुभयो तर के गर्नु अरू विकल्प छैन, दिनहुँ यसरी नै शुल्क तिरेर नदी तर्नुपर्ने बाध्यता छ ।
गोरखापत्रबाट































प्रतिक्रिया