काडमाडौं । चर्चित हाँस्य कलाकारद्धय मनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ब्यङ्ग्यको नाममा आफूहरुले कुनै धर्म प्रचार नगरेको बताएका छन् ।
महजोडी नामले चर्चित कलाकारद्धयले सामाजिक सञ्जालमा आफूले धर्मप्रचार गरेको भन्ने सूचनामा कुनै सत्यता नभएकोले त्यस्मा भ्रममा नपर्न भन्दै खण्डन गरेका छन् ।
केही दिन यता सामाजिक सञ्जालहरुमा महजोडीले युएसएडको पैसा लिएर धर्म प्रचार गरको भन्ने विषय उठान भैरहेको बेला उनीहरुले त्यसको खण्डन गर्दै उक्त प्रचार भ्रामक र अनर्गल भएको दावी गरेका छन् ।
विहिबार संयुक्त भिडियो सार्वजनिक गर्दै मदन श्रेष्ठले भने “हिजोआज सामाजिक सञ्जालहरुमा मह जोडीले युएसएडको पैसा लिएर धर्म विरोधी प्रचार गर्दै हिंडे भन्ने अनर्गल प्रचार भइरहेको छ , यसमा हामीलाई एकदम चित्त दुखेको छ ।”
उनले सवैलाई आफन्त र हितैसी सम्झेको बताउँदै हितैसीबाट यस्तो आरोप लगाएको सुन्नुपर्दा चित्त दुखेको बताए । उनले भने “संसारमा राम्रा कुरा पनि छन् नराम्रा कुरा पनि छन् हामीले राम्रा कुरा मात्रै छानेर काम गर्दै आइरहेका छौ । जस्तै कुष्ठरोग, खोप आदी कुराहरु …यी अधर्म कुरा हैनन् । हेरेर जाँच्नु भए हुन्छ, कुनै पनि अनर्गल छैन त्यसमा नचाहिने कुरा बोलेका छैनौ ।”
त्यस्तै हरिवंश आचार्यले दुइवटा चलचित्र अहिले खेलिरहेको बताउँदै उक्त अनर्गल प्रचार आउनु अगाडि नै चलचित्रको शुभारम्भ पनि भगवानको पूजाआजा गरेरै गरेको बताए ।
उनले भने “युएसएडको कुरामा जहाँ सम्म आउँछ, जहाँसम्म लाग्छ, मदन बहादुर, हरि बहादुर, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रम गरेका छौ । त्यो हामीले सवैलाई छर्लङ्ग हुने गरी युटुवमा राखेका छौ । तपाइहरुले पल्टाएर हेर्नुभए हुन्छ, त्यहाँ कहीं पनि सनातन हिन्दु धर्म, बुद्ध धर्म र अरु कुनै पनि धर्मको विरोध गरेका छैनौ र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौ । यो अनर्गल प्रचार हो ।”
उनले ब्यङ्ग्य गरेको भरमा अनर्गल प्रचार गरिएकोमा दुःख ब्यक्त गर्दै भने “२०५२ सालमा पञ्चायत ब्यवस्थाको सराद्दे भन्ने कार्यक्रम गरेका थियौं । त्यसमा एउटा पण्डितको पात्रको प्रवृतिको ब्यङ्गय गरेको छौं र पण्डित भन्दैमा भगवान हुँदैन । म पनि पण्डितकै छोरो हुँ । ब्यङ्ग्य भनेको नेपालमा नेतालाई पनि गर्न पाइन्छ, पण्डितलाई पनि गर्न पाइन्छ, पुलिस, डाक्टर, वकिल सवैलाई पनि गर्न पाइन्छ । त्यसैको टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्ने कुरा चाहीं कपोल्कल्पित कुरा हो र हामी हाम्रो काममा निरन्तर लागि नै रहन्छौ ।”




















