नेपालगञ्ज । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगञ्जमा आयोजना गरिएको रोयल इन्फिल्ड महाराइड यात्रा सम्पन्न भएको छ ।
नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इन्फिल्ड महाराइड यात्रा आयोजना गरेको थियो । रोयल इन्फिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भयो ।
सो रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इन्फिल्ड राइडरहरु सहभागी भएका थिए । कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट रहेका थिए भने विशिष्ट अतिथिका रुपमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारीे खगेन्द्रप्रसाद रिजाल रहेका थिए । नेपाल प्रहरी (जनपथ) का प्रहरी उपरीक्षक तुलबिक्रम कार्की र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शोभाकान्त खनाल समेत अतिथिको रुपमा रहेको सो कार्यक्रमको फ्ल्याग अफ प्रमुख जिल्ला अधिकारीे खगेन्द्रप्रसाद रिजाल र नगर प्रमुख प्रशान्त बिष्टबाट भएको थियो ।
यात्रालाई थप विशेष बनाउन महिला राइडर तथा प्रोफेसनल बाइक राइड प्रशिक्षक शीतल गिरी काठमाडौंबाट सहभागी भएकी थिइन् । साथै चर्चित भ्लगर विशाल थापा र सुप्रिम भ्लग पनि यो यात्राको हिस्सा बनेका थिए। नेपालगञ्ज शहरको सुन्दर टुर पश्चात राइडरहरू गाभर उपत्यका पुगेका थिए ।
त्यहाँ स्थानीय समुदायले खादा र सांस्कृतिक नृत्यको माध्यमबाट भव्य स्वागत गरे । यात्राले मोटरसाइकल पर्यटनलाई प्रवर्धन गर्नुका साथै स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेत उजागर गरेको कम्पनीको भनाइ छ ।
यात्राको थप आकर्षण थियो रोयल इन्फिल्ड बाइक म्युजिकल चेयर प्रतियोगिता, जसमा राकेश (रकी)ले जित हासिल गरेका थिए । कार्यक्रमको अन्तिम चरण नेपालगञ्ज शोरूममा समापन गरियो, जहाँ सहभागीमध्ये सबैभन्दा अनुशासित र मैत्री रोयल इन्फिल्ड राइडर दशरथ चन्दलाई सम्मान प्रदान गरिएको थियो ।
सो भव्य महाराइडले नेपालगञ्ज र गाभर उपत्यकाको पर्यटन प्रवर्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।





























प्रतिक्रिया