आरोप प्रत्यारोपमै उत्रिए नेताहरु : नेकपा स्थायी समिति बैठक

आरोप प्रत्यारोपमै उत्रिए नेताहरु : नेकपा स्थायी समिति बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रभावशाली नेताहरूले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे ।

स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेका छन् । उनले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना गरे ।

एकीकृत पार्टीमा दुई अध्यक्ष हुने निर्णय भएपनि सचिवालय बनाउँदा मनोमानी गरिएको पनि उनले जिकिर गरे । ‘पार्टीको मुख्य नेतृत्व कसले छनौट गर्ने, सचिवालय, पूर्ण कमिटी र महाधिवेशन कसले गर्ने ? यो कुनै व्यक्तिको इच्छा अनुसार हुने हो र ? प्रतिनिधित्व, योग्यता र वरियताको मापदण्ड के हुने ? कुन निकायले निर्धारण गर्ने ? ’ रावलले लिखित धारणा राख्दै टिप्पणी गरे ।

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनुको औचित्यबारे पनि रावलले पार्टी नेतृत्वलाई प्रश्न गरे । ‘आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई ढृढतापूर्वक कार्यान्वयन गर्ने बाटोमा हिंडनुपर्नेमा विपरीत सिद्धान्त बोेकेका पार्टीलाई सरकारमा ल्याउने कुरा कसरी आयो ? ’ रावलले भने ।

नेता योगेश भट्टराईले पार्टी एकताका नाममा फरक मत राख्ने नेता कार्यकतालाई लखेटिएको भन्दै नेतृत्वले भविष्यमा चैनको निद्रा सुत्न नसक्ने टिप्पणी गरे । ‘एकताका नाममा एउटा विचार समूहका नेतालाई लखेट्ने, सिध्याउने काम गरिरहनु भएको छ । मान्छे त लखेट्नु होला तर ती मान्छेको भूतले सपनामा पनि लखेट्छ, चैनसँग सुत्न पाउनहुन्न,’ भट्टराईले भने, ‘म महाधिवशेनवाट निर्वाचित पार्टी सचिव र प्रचार विभाग प्रमुख भएकाले मात्र अहिले यो कमिटीमा छु । तर यो स्थायी समिति एमालेको नेताहरूबाट छनौट हुने भएको भए सायद म यहाँ हुने थिइन ।’

उनले दुई अध्यक्षको प्रतिवेदनलाई अपूर्ण, अस्पष्ट र वैचारिक रूपमा भुत्ते भएको भन्दै आलोचना गरे । ‘राजनीतिक प्रतिवेदन वैचारिक रूपमा भुत्ते र अष्पष्ट छ । प्रतिवेदन भनेको पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने हतियार हो । भुत्ते, काट्दै नकाट्ने हतियार लिएर लड्न जाऊ भनेर युद्ध जित्न सकिँदैन ।’

भट्टराईले वामदेव गौतमको प्रतिवेदनमा कतिपय राम्रा कुरा रहेकोले त्यसलाई पनि समेटनुपर्ने बताए । गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसँग व्यक्तिगत सम्बन्ध बिग्रेर मात्र प्रतिवेदन ल्याइएको भए गलत हुने भन्दै मूल प्रतिवेदन नै पुनर्लेखन गर्न आग्रह गरे ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo