विलमिङटन ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्ने क्रममा लडेर खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ ।
बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो । बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताएका छन् । तर उनको खुट्टाको सिटीस्क्यान गर्न लागिएको पनि डा केभिनले बताए ।
बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नेछन् ।
बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँडेको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिएका थिएनन् । राष्ट्रपति–निर्वाचित बाइडेनको परिवारमा २ वटा कुकुर छन् र उनले दुबै कुकुरलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसकेका छन् ।
ह्वाइट हाउसको संचार टोलीमा महिलाहरु नियुक्त
अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।
बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताए । उनीहरु सबै योग्य, अनुभवी संचार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताए ।
बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछिन् । उनले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नेछिन् । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गरेकी छिन् ।
उनले ह्वाइट हाउसको संचार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिइन् ।रासस





























प्रतिक्रिया