काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर गरिने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महाधिवेशनबारे धारणा राखेका हुन् । कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैको समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘विधि नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हो । बहुदलीय व्यवस्था पुनःस्थापन भएदेखि नै ४ वर्षमा कहिल्यै महाधिशेन भएकै छैन । कांग्रेस राजनीतिक पार्टी हो । पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो,’ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने ।
उनले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी कमजोरजस्तो देखिएको बताए । ‘कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भइरहेका छौं,’ उनले भने, ‘समस्या पत्ता लगाइसकेपछि समाधान कसले गर्छ ? हामीले गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरि पार्टी संगठनलाई अघि बढाऊँ ।’
कांग्रेस पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र वृहत्तर एकता कायम हुने भन्दै अहिले कांग्रेसलाई साइडलाईनमा राखेर आफ्ना गुटहरू, उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखा परेकोमा चिन्ता व्यक्त गरे । उनले पार्टीभित्रका मनमुटाव समयमै व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि पार्टीकै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने बताए । पार्टीको नीति सिद्धान्तलाई केन्द्रमा राखे पार्टीभित्रको विभाजित मानसिकताको अन्त्य हुने सिंहको भनाई थियो ।





























प्रतिक्रिया