काठमाडौँ
नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । यो जनवरीदेखि नोभेम्बरसम्मको जहाजबाट आएका पर्यटक आवागमन हो जुन अघिल्लो वर्षको ११ महीनाको तुलनामा १७ प्रतिशतले बढेको देखिएको छ ।
छिमेकी मुलुक सबैभन्दा बढी भारतबाट दुई लाख ६० हजार १२४ पर्यटक आएका छन् भने चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । विवरण अनुसार नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुक भारत र चीनपछि अमेरिका तेस्रो स्थानमा परेको छ । यो अवधिमा अमेरिकाबाट ८२ हजार ५५५ पर्यटक आएका छन् । बेलायतबाट ५७ र जर्मनीबाट ३४ हजार पर्यटक आएका छन् ।
पर्यटक आवागमन वृद्धि अहिलेसम्मकै ऐतिहासिक भएको र यसले नेपाली पर्यटनमा थप उत्साह जगाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकको सङ्ख्या ऐतिहासिक रुपमा वृद्धि भएको छ, यसले सन् २०२० को नेपाल भ्रमण वर्षको लागि ढोका खोलिदिएको छ, पूर्वाधारमा प्रगति भएमा २० लाख पर्यटकको लक्ष्य भेट्न कुनै समस्या हुदैन ।”
सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले नेपाल भ्रमण वर्षलाई सफल बनाउने तयारी गरिरहँदा पर्यटक आवागमनको उत्साहजनक वृद्धिले नेपाली पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
रासस































प्रतिक्रिया