काठमाडौं ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजनीतिक पूर्वाग्रह राखेर रिपोर्ट तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिन अघि सार्वजनिक गरेको रिपोर्ट तथ्यहिन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको हो । नेपालमा भ्रष्टाचार बढ्दै गएको भन्ने ट्रान्सपरेन्सीको रिपोर्ट कुनैपनि तथ्यबाट प्रमाणित नहुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले नै सन् २०१८ मा भन्दा २०१९ मा नेपालको अवस्थामा सुधार भएको रिपोर्ट सार्वजनिक गरेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्धमा लागेको सरकार र प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गर्ने आधार के भन्दै प्रश्न गरे ।
ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टाचारका काण्डमा प्रधानमन्त्रीले संरक्षण गरेको आशय व्यक्त गरेको थियो । ८४ प्रतिशत उत्तरदाताले विकासको काममा भ्रष्टाचार बाधक रहेको देखाउनुले पनि नेपाली जनता भ्रष्टाचारप्रति सचेत र जानकार छन् भन्ने देखाएको उनले बताए ।
उनले सरकार विरुद्धका मिसनका रुपमा लागेर नेपाली जनता र सरकारलाई बदनाम गर्ने र सरकारप्रति वितृष्णा फैलाउने काम भएको बताए। ट्रान्सपरेन्सीको नेतृत्वकर्ता नै फरक राजनीतिक पृष्ठभूमि र राजनीतिक ब्राण्ड भएको व्यक्ति भएकाले पनि प्रतिवेदनमा शंका गर्ने ठाउँ रहेको उनले बताए ।































प्रतिक्रिया