एजेन्सी । प्रदेशसभा निर्वाचनमा हारेपछि छत्तिसगढका मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् । विधानसभा चुनावमा सत्तारुढ दल भाजपालाई नराम्रोसँग धक्का लागेपछि छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले राजीनामा दिएका हुन् ।
उनले गर्भनरलाई आफ्नो राजीनामा पत्र बुझाएका छन्। त्यस्तै मिजरोमका मुख्यमन्त्री लाल थानहवालाले पनि पदबाट राजीनामा दिएका छन् ।
लोकसभा निर्वाचन नजिकिँदै गर्दा भारतका पाँच प्रदेशमा भएको प्रदेशसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीलाई धक्का लागेको छ।
विधान सभाको निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा भाजपा पछाडि परेको छ। सन् २०१४ मा नराम्रो हार व्यहोरेको भारतीय नेसनल कांग्रेसले जित हासिल गरेको छ।
छत्तिसगढमा कांग्रेसले दुई तिहाई सिटमा विजयी हासिल गर्ने तर्फ लम्किएको छ। यहाँ ९० सिटमध्ये ६४ सिटमा कांग्रेस अगाडि छ भने सत्तारुढ दल भाजपा १६ सिटमा खुम्चिएको छ।
त्यस्तै तेलंगनामा पनि भाजपाले हार व्यहोरेको छ। ११९ सिट रहेको यहाँ तेलंगना राष्ट्र समिति (टिआरएस) ले दुई तिहाई जित हासिल गरेको छ। ११९ मध्ये ११८ सिटमा नतिजा सार्वजनिक भएको छ। जसमध्ये टीआरएसले ८७ सिट हासिल गरेको छ। त्यस्तै कांग्रेसले १९ सिट र टीडीपीले २ र भाजपाले एक सिट हात पारेको छ।
त्यस्तै राजस्थानमा पनि कांग्रेस बहुमत तर्फ उक्लिएको छ। २०० सिट मध्ये कांग्रेस १०१ सिटमा अगाडि छ भने भाजपा ७३ मा सिमित भएको छ। त्यस्तै अन्य दल १९ र बहुजन समाजवादी पार्टीले ६ स्थानमा अग्रता कायम गरेका छन्।
राजस्थानमा यहाँका गाइपालन मन्त्री ओताराम पराजित भएका छन्। उनलाई स्वतन्त्र उम्मेद्वार सन्याम लोधले १० हजार २५३ मतले पराधि गरेका हुन्। त्यस्तै खानेपानी मन्त्री राम प्रताप पनि कांग्रेसका विनोद कुमारसँग १५ हजार ५२२ मतले पराजित भएका छन् ।
मध्ये प्रदेशमा भने भाजपा र कांग्रेसबीच कडा टक्कर देखिएको छ। अहिलेसम्म कांग्रेसको अग्रता कायम छ । यहाँ कांग्रेसले ११४ स्थानमा अग्रता कायम गर्दा भाजपा १०८ मा अग्रता कायम गरेको छ भने अन्य दलले ८ स्थानमा अग्रता लिएका छन्।
यहाँ बीजेपीका मन्त्री दीपक जोशी पराजित भएका छन्। उनलाई पहिलो पटक चुनाव लडेका कांग्रेसका उम्मेदवार सन्जय शुक्लाले पराजित गरेका हुन्।
यता मिजरोममा कांग्रेसले हार व्यहोरेको छ। कांग्रेसको प्रभाव रहेको राज्यमा मिजो नेसनल फ्रन्ट (एमएनएफ) ले बहुमत हासिल गरेको छ।
कुल ४० सिट रहेको यहाँ एमएनएफले २६ स्थानमा जित हासिल गरेको छ। यहाँ बहुमतका लागि २१ सिट आवश्यक छ। यहाँ कांग्रेसले ५ सिट हात पारेको छ। भने भाजपाले १ सिटमा जित हात पारेको छ।





























प्रतिक्रिया