नेपाल आदिवासी जनजाति महासंघले साताव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दवावमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
आफूहरुको पहिचानको रुपमा रहेको सांस्कृतिक चाडपर्वको विदा कटौती खारेज गर्न माग गर्दै दवाव आन्दोलन सुरु गर्नुपरेको महासंघका अध्यक्ष जगतबहादुर बरामले जानकारी दिए ।
कार्यक्रम अनुसार मंसिर २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने, पुस १ गते विदेशस्थित सबै नेपाली दूतावासमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने रहेका छन् । त्यसैगरी महासंघले पुस १ गते नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि आफ्नो माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाउने छ ।
पुस २ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पुस ३ गते प्रधानमन्त्री केपी ओलीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष बरामले बताए । महासंघले पुस ४ गते सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशको मुख्यमन्त्रीको कार्यालय र काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएर पनि आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दिवाव दिने जनाएको छ ।





























प्रतिक्रिया