एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद, २ पत्नीबाट १२ सन्तान

एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद, २ पत्नीबाट १२ सन्तान

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्।

देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको जानकारी दिए ।

‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनामा पर्‍यो’, शाहले भने, ‘चौकीबाट छुटेर आएको अर्को दिन तीन वटै पत्नीलाई तलाक दिएको हो।’

खाँका जेठी र माइली पत्नीबाट ६/६ गरी १२ सन्तान छन्। उनले कार्तिकको दोस्रो साता आफूभन्दा आधा उमेरकी २२ वर्षीया भान्जी सिराजुन निशा जोलाहिनसँग प्रेमविवाह गरे।

१६ कार्तिकमा रमजान अलि अन्सारीले आफ्नी भान्जी सिराजुनलाई खाँले अपहरण गरेर बेपत्ता बनाएको भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरमा जाहेरी दिएका थिए।

१५/२० दिन भारतको बहराइच बसेर घर फर्केको बेला ८ मंसिरमा खाँ प्रहरी नियन्त्रणमा परे। उनलाई एक दिन हिरासतमा राखेको इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्सपेक्टर वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

कान्छी पत्नीले आफुले राजीखुसी भागेर बिहे गरेको प्रहरीलाई बताएपछि खाँ प्रहरी हिरासतबाट मुक्त भएका थिए। ‘बहुविवाहको जाहेरी पनि परेन। राजिखुसीले बिहे गरेको भन्दा कुनै कारबाही गर्ने कुरै आएन’, इन्सपेक्टर विश्वकर्माले भने, ‘अन्सारीले भान्जीलाई खाँबाट छुटाएर अर्को विवाह गर्न चाहेका थिए। उनीहरू तलाक नै चाहन्थे।’

बहुविवाह गरेको अभियोगमा जेल जाने डरले खाँले कान्छी पत्नीसँग सम्बन्धविच्छेद गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। ‘दुई पत्नी हुँदै तेस्रो बिहे गर्नु कानुनविपरीत भएको थाहा पाएर कान्छीलाई तलाक दियो। जेठी र माइली पत्नीले उजुरी दिएर आफुलाई थुनाए भन्ने झोंकमा उनीहरूलाई पनि तलाक दिएको हुनुपर्छ’, उनले भने, ‘कान्छी भगाएर जाँदा बहुविवाहको जाहेरी देऊ भन्दा पनि जेठी र माइली पत्नीले मानेका थिएनन्। उसलाई भने पत्नीले नै गरेको भन्ने भान भएको हुनुपर्छ।’ अन्नपूर्ण पोष्टमा खबर छ ।

Logo