झापामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा

झापामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा

केन्द्रबिन्दु
18
Shares

झापा । जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

जिल्ला खेलकुद विकास समितिका अनुसार राष्ट्रिय खेलकुद परिषदको आयोजना र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन २३, २४ र २५ गते मेची रंगशालामा प्रतियोगिता हुँदैछ ।

जिल्लाका स्थानीय तहका विद्यालयहरुबाट प्रतिस्पर्धा गरी छनोट भएका माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका खेलाडीहरुले ६ वटा विधामा प्रतिस्पर्धा गर्ने खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भण्डारीले बताए।

यस वर्ष एथलेटिक्स (छात्र /छात्रा), भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), कराते (छात्र/छात्रा), तेक्वान्दो (छात्र/छात्रा) र उसु (छात्र/छात्रा) खेल हुने उनले जानकारी दिए । प्रत्येक टिममा छ विधाका करिब १२५ जना खेलाडी तथा अफिसियल गरी करिब दुई हजारजनाको जमघट मेची रंगशालामा हुने अध्यक्ष भण्डारीले बताए।

प्रतियोगिताका लागि खेलको विधा अनुसार मेची रंगशालालाई व्यवस्थित बनाइएको उनको भनाई छ । यसअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुनधारामा गराइएको थियो । प्रतियोगिताबाट विजेता खेलाडीहरु छनोट भई झापा जिल्लाको टिम बन्नेछ । करिब १२५ जनाको झापा टिम कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी बन्ने उनले बताए।

प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च लाग्ने अनुमान गरिएको छ । यद्यपि, सम्बन्धित निकायहरुबाट हालसम्म कुनै पनि बजेट प्राप्त नभइसकेको कार्यालयले जनाएको छ । बजेट नआए पनि उद्योगी–व्यवसायी, खेलकुदप्रेमी, दाताहरुसँग सहयोग जुटाएर प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष भण्डारीले बताए।

राष्ट्रपति रनिङ शिल्डमा सामेल नभए पनि जिल्लामा उल्लेख्य खेलाडी रहेको आईटीएफ तेक्वान्दोको पनि प्रतियोगितात्मक प्रतिस्पर्धा हुने बताइएको छ ।

Skip This
Skip This
Logo