काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संगठन इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान)को दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभाका अध्यक्ष देवराज घिमिरे उपस्थित भएका थिए ।
कार्यक्रममा बोल्दै सभामुख घिमिरेले प्रतिनिधिसभाबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि प्रकारको कानुन नबन्ने प्रतिबद्धता जनाए । उनले कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुनेमा पनि जोड दिए ।
यसका साथैं सभामुख घिमिरेले मिडियाहरुमा तथ्यमा आधारित समाचारका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने प्रवृत्ति विकसित हुन नसकेको, विज्ञापन र आर्थिक लाभका कारण कतिपय अवस्थामा समाचार सङ्कलनमा प्रभाव पर्ने गरेको उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सबै क्षेत्रका मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने छोेटो समयमा आम नेपालीहरुले चाहेको जस्तो समृद्ध नेपाल बनाउन सकिने धारणा राखे । उनले कतिपय राजनीतिक पार्टीको तर्फबाट विकास निर्माण, रोजगारी सृजना र पूर्वधार निर्माण गर्ने कुरामा पनि विरोध हुने गरेको भन्दै आपत्ति जनाए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले मौद्रिक नीति तुलनात्मक रुपमा लचिलो आएको बताएका छन् । उनले मौद्रिक नीति निजी क्षेत्रले चाहे जस्तो भने नआएको बताए।
यसैगरी, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले वित्तिय साक्षरता एकदमै न्यून रहेको भन्दै सबै वित्तिय क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न आवश्यक रहेको औंल्याए ।
यसैगरी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इपान) का अध्यक्ष गणेश कार्कीले देशमा साच्चैँ विकासको गति बढाउन आर्थिक क्षेत्रलाई अघि बढाउनु पर्नेमा जोड दिए । उनले विभिन्न समितिबाट भिन्न–भिन्न प्रकारका निर्णयहरु आउँदा कानुनी अड्चनका कारण २ वर्षदेखि कामहरु निजी क्षेत्रका कामहरु रोकिरहेको जानकारी पनि दिए ।
इमानको नयाँ कार्यसमिति पनि चयन भएको छ । नवनिर्वाचित कार्यसमितिमा केटिएम भ्वाइसका सम्पादक रोयल आचार्य दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा दोहोरिएका छन् । यसैगरी इमानको उपाध्यक्षमा डिल्ली सापकोटा, महासचिवमा रामेश्वर कार्की, उपमहासचिवमा टंकबहादुर कार्की, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा अमिर लामा पनि दोहोरिएका छन् । संस्थाको सदस्यहरुमा डिआर आचार्य, अप्सरा गौतम, उत्सव ढकाल, मनोज थापा र गीता भुसाल सर्वसम्मत चयन भएका छन् ।































प्रतिक्रिया