काठमाडौँ । चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो । चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको बहाना पनि हो । त्यसैले हिजोआज जताततै विभिन्न ‘ब्रान्ड’मा चियापसल खुलेका छन् र ती पसलमा मानिसहरु झुम्मिएकै देखिन्छन् । नेपालीका लागि चिया संस्कृति नयाँ भने हैन । बयस्कदेखि वृद्ध अवस्थाकाले पनि चियाको चुस्की लिन्छन् । चियाले न भोक मेट्छ न पोषण दिन्छ तर सम्बन्धहरू न्यानो बनाइराख्छ भनेर विश्लेषण गर्नेहरू पनि छन् । त्यसैले चियालाई थकाइ मार्ने, तलतल मेट्ने, तनाव कम गर्ने अर्थात् ‘फ्रेस’ हुने कडीका रूपमा समेत अथ्र्याउने चलन छ ।
त्यसैले सहरबजारमा बग्रेल्ती चियाका ब्रान्ड खुलेका छन् । चियावाला, चिया चौतारी, चियासंसार, मड्का चिया आदि।।।। यिनै मध्येको एक हो ‘पोखरेल मट्का चिया’ । राजेश शर्मा (पोखरेल दाइ) ले विगत एक वर्षदेखि परम्परागत चियापसललाई फरक शैलीमा नयाँ ब्रान्डका रुपमा स्थापित गरेका छन् । सिंहदरबारको पूर्वीगेट अनामनगरमा रहेको यो पसल त्यहाँ पुग्नेहरूको रोजाइमा पर्न थालेको छ । मड्का मात्रै हैन १९ थरीका चियाको चुस्कीको स्वाद पाइने भएकाले यहाँ ग्राहकको भीड लाग्ने गरेको छ । नेतादेखि कलाकार, वकिल पत्रकार तथा चियाका पारखीहरूका माझ यो पसल चर्चाको विषय बन्ने गरेको छ ।
काठमाडौँ महानगरपालिका–२९ का वडा सचिव शम्भु बरालका अनुसार वडाभित्र १०० हाराहारी चिया पसल खुलेका छन् । तीमध्ये कतिपय ‘चिया पसल’ भनेर दर्ता छन्भने धेरैजसो बेकरी, खाजाघर आदि नामले सञ्चालनमा छन् । पछिल्लो समय चिया व्यवसायमा आकर्षण बढेको र विभिन्न ब्रान्डका चिया पसल खुल्नेक्रम जारी रहेको उनले बताए।
पुर्खेउली घर स्याङ्जा भएका पोखरेलले चियाको यो ‘ब्रान्ड’ स्थापित गर्नुपछाडिको सङ्घर्ष लामो छ । १३ वर्षको उमेरदेखि पेसा व्यवसाय गरेका उनले विस २०५७ देखि अनामनगरमा चिया पसल सुरु गरेका थिए । त्यसअघि उनले नवलपराशीमा गण्डकी गेष्ट हाउस, किराना पसल र पान पसल पनि सञ्चालन गरेका थिउ। त्यसपछि उनले चिया पसलमा जोडिए तर त्यसबाट फाइदा नभएपछि शर्मा रोजगारीका लागि युरोपका विभिन्न देशमा भौतारिए। “युरोपमा साथीभाइको व्यापार–व्यवसायमा जोडिने भनेर विदेश गए, विदेश र नेपालको लगानीको तुलना गरे । विदेशमा जोखिम देखेँ”, उनले भने । शर्माले डेनमार्क, बेल्जियम, पोर्चुगल, नेदरल्यान्डमा चियाको नयाँ तौरतरिका सिक्ने अवसर पाए र त्यही सीपलाई एक वर्षदेखि नेपालमै चियाको नयाँ ब्रान्डका रूपमा स्थापित गरेको सुनाए।
चियाका पारखीको ध्यान खिच्न पोखरेलले चिया पसल र सामाजिक सञ्जालमा विभिन्न नाराहरु पोष्ट गर्छन्। ‘चियामा रोइलो होइन रमाइलो गरौँ । एक कप हजार खुसी, पोखरेल चिया तपाइँको सन्तुष्टि’ यी र यस्ता साङ्केतिक नाराले पनि पोखरेल मटका चिया अनामनगरमा अरूभन्दा भिन्न छ ।
उन्नाइस थरीका चिया
पोखरेल मट्का चियामा १९ वटा चियामा १९ प्रकारका मसलाको फरक स्वाद पाउन सकिन्छ । “दूधजन्य १९ थरी र पानीजन्य अरू फरक चिया पनि पाइन्छ, लालीगुराँस, लेमनग्रासलगायत मागअनुसारका चिया पनि हामीले दिने गरेका छौँ”, पोखरेलले भने। फरक फरक मसलाको समिश्रण, त्यसैले उनले एउटा कपको रु २५ देखि १३० सम्म लिन्छन् ।
उनले अनामनगर क्षेत्रका मात्र नभई कालीमाटी, स्वयम्भू, पेप्सीकोला, बालाजु, पुतलीसडकलगायत स्थानबाट ग्राहकहरू आफूकहाँ आउने गरेको बताए। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ठाकुर गैरेलगायत नेताहरूले बेलामौकामा आफ्नो चिया पिउने गरेको उनल
सुनाए । शर्माले यसैबाट परिवारको खर्च राम्रोसँग चलेको र पाँच जनालाई रोजगारी दिएको बताए।
करिब २० लाख लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ । छिट्टै कतारमा र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।
विगत २५ वर्षदेखि चिया बेच्दै आएका शर्माले अरू शाखामा अरबी, इरानी, गुलाफलगायत १० थरी चियाको स्वाद चखाउने योजना रहेको बताउँछन् । उनले ग्राहकको इच्छाअनुसार चियासँग बेकरी आइटम, मःम, चाउमिन, भुटेको र उसिनेको मकै, कोदोको सुक्खा रोटी, मोही, दही आदि परिकार पनि पस्किने गर्छन्।































प्रतिक्रिया