काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागूऔषध तथा दुव्र्यसनीमा संलग्न रहेका ती व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
निर्मलाको शव फेला परेको दिन ति व्यक्ति घरबाट बाहिरिएका थिए । पछि उनीबारे सोधपुछ गर्दा परिवारका सदस्यले भारत गएको बताएका थिए । प्रहरीले भारतमा समेत उनको खोजी गरिराखेको थियो ।
मंगलवार साँझ ती युवा काठमाडौंमा फेला परेको सीआईबी स्रोतले जनाएको छ । २२ वर्षीय ती युवाको डिएनए परीक्षणका लागि रगतको नमूना समेत शंकलन गरिएको प्रहरी स्रोतको दावी छ ।
डीएनए परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उनको दुई दिनमा डीएनए रिपोर्ट आउने र रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ । पक्राउ परेका युवकको भूमिका शंकास्पद देखिएको र उनी यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको पाइएको बताइएको छ ।
निर्मलाको हत्या र बलात्कारको घटनामा उनी कुनै न कुनै भूमिकामा संलग्न रहेको आशंकाका आधारमा नियन्त्रणमा लिईएको प्रहरी स्रोतको भनाई छ । प्रहरीले पक्राउ परेका ति युवाको नाम भने गोप्य राखेको छ ।































प्रतिक्रिया