विमान खरिद प्रकरणबारे पर्यटनमन्त्री अक्क न बक्क

विमान खरिद प्रकरणबारे पर्यटनमन्त्री अक्क न बक्क

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा घोटाला भएको बिषयमाथि आज  संसद्को सार्वजनिक लेखा समितिमा छलफल भयो।  छलफलमा जवाफ दिन  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि उपस्थित भए।

बैठक शुरु हुनासाथ मन्त्री अधिकारीमाथि एकपछि अर्को प्रश्न तेर्सिए ।  बैठकमा लेखा समिति सभापति भरत शाहले पर्यटन मन्त्रालयको छानविन समितिको निष्कर्ष मागेका थिए।  उनले महालेखा परीक्षकको प्रतिवेदनबारे बारे पनि जिज्ञासा राखेका थिए ।

सभापति शाहले २४२ टन अधिकतम उडान भारमा विमान खरिद गर्ने भनिएकोमा २३० टन उडान भारमा झार्दा मूल्य नघटेको र निगमलाई ३ अर्ब रुपैयाँ घाटा भएको तथ्यांक प्रस्तुत गर्दै मन्त्री अधिकारीलाई प्रश्न राखेका थिए।  लगतै सभापति भण्डारीले विमान निर्माता कम्पनी एयरबस र निगमबीच भएको सम्झौताअनुसार ९३ मिलियन अमेरिकी डलरमा खरिद–बिक्रीको सम्झौता भएकोमा १०४.८ मिलियन डलरमा विमान खरिद गर्नुको कारण खोजेका थिए ।

जवाफ दिने क्रममा मन्त्री अधिकारी एकछिन अक्मकिए।  त्यसपछि संक्षेपमा जवाफ दिंदै उनले महालेखा परीक्षकको प्रतिवेदनबारे छलफल चलिरहेको बताए । उनले घोटाला काण्डको छानबिन गर्न वायु सेवा निगमलाई नै जिम्मा दिइएको पनि बताए।  जवाफ दिने क्रममा मन्त्री अधिकारीले युरोपेली युनियनले नेपाली विमान कम्पनीहरुलाई कालो सूचीमा राख्न जरुरी नभएको बताए ।

बैठकमा  सत्तारुढ दल नेकपाकै सांसद लेखराज भट्टले विमान खरिदमा अनियमितता भएको निकाय वायुसेवा निगमलाई नै छानबिनको जिम्मा दिइनुले झन शंका बढाएको बताए । अर्का सांसद् विरोध खतिवडाले विमान खरिदबारे मन्त्रीले शुरूबाटै विवादास्पद् अभिव्यक्ति दिंदै आएकोमा आशंका गरे । त्यस्तै सांसद हृदयेश त्रिपाठीले मन्त्रीको जवाफ हास्यास्पद भएको टिप्पणी गरे ।

सांसद प्रेम आलेले भने, ‘जो विवादमा छ उसैलाई छानबिन गर्न दिनु उपयुक्त भएन। जनताहरुले आफूहरुसँग जनताले भ्रष्टाचारीलाई कहिले कारबाही गर्ने भनेर प्रश्न गरिरहेकोले सांसदको लोगो समेत खोलेर आएको छु।’

सांसद तेजुलाल चौधरीले स्वतन्त्र निकायबाट छानबिन हुनुपर्ने माग गरे भने नेपाली कांग्रेसका सांसद् मिनेन्द्र रिजालले योजना नै नबनाई विमान खरिद प्रक्रिया अगाडि बढाइएको भन्दै आपत्ती जनाए । उनले नागरिक लगानी कोष र कर्मचारी संचय कोषको पनि जवाफ माग्नुपर्ने धारणा राखे । रिजालले वाइड बडी प्रकरणमा भ्रष्टाचार भएको स्पष्ट देखिएको आरोप लगाउँदै भने, ‘भ्रष्टाचारमा तपाईँ तानिने कि नतानिने?’

मन्त्रीको प्रस्तावमा सांसदहरुको बिरोध

यसैबीच बैठकमा बोल्दै मन्त्री अधिकारीले नेपाल वायु सेवा निगमलाई ब्यबस्थित गर्न रणनीतिक साझेदारी खोज्नुपर्ने बताएका छन्। निगमको शेयर बढाउनुपर्ने भन्दै उनले भने, ‘साझेदार खोज्ने कि पार्टनर खोज्ने अथवा सेयरको कित्तामात्र बेच्ने, यस विषयमा छलफल अगाडि बढाइएको छ।’ उनले लगानीकर्ता समेत खोजिरहेको बताए।

मन्त्रीको उक्त प्रस्तावमाथि जवाफ दिंदै सांसद विरोध खतिवडाले निगमको पुजी वृद्धि गर्ने कि खर्च पूर्ति गर्ने स्पष्ट हुनुपर्ने बताए।  सांसद तेजुलाल चौधरीले स्ट्रटेजिक पार्टनर अहिले नै खोज्नुपर्ने कारण मागे।  उनले भ्रष्टाचारीलाई कारबाही गरेर मात्र अन्य कुरामा लाग्नुपर्ने बताए।

सांसद हृदयस त्रिपाठीले सेयर बढाउने नाममा  मन्त्रालयलाई फसाउन खोजिएको आशंका व्यक्त गरे ।

Skip This
Skip This
Logo