काठमाडौं ।
भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी हुने भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने वेविनारका क्रममा प्राप्त सुझाव तथा टिप्पणीले प्राधिकरणले तयार पार्न लागेको संस्थागत पत्र (कम्पेडियम) लाई पूर्णता दिन मद्दत मिलेको बताए । उनले पुनर्निर्माणका अनुभव र सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुनेमा जोड दिए ।
प्राधिकरणले तयार गर्न लागेको आफ्नो संस्थागत पत्र (कम्पेण्डियम) को तयारीका सिलसिलामा तयार प्रारम्भिक खाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, मुख्य सरोकारवाला तथा अभ्यासकर्ताबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको थियो ।
प्राधिकरणले आयोजना गर्ने नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने गरी छ वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ । शनिबार क्रमशः जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुत भएका छन् ।
पहिलो सत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा प्राधिकरण, विभिन्न सरकारी तथा गैरसकारी निकायबाट भएका पहलबारे प्राधिकरणका कार्यकारी समिति सदस्य डा. विष्णु भण्डारीले कार्यपत्र प्रस्तुत गरे। भण्डारीले कार्यपत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा १० वटा मन्त्रालय र ४७ वटा साझेदार संस्थाको सहयोगमा करिब चार लाख ६० हजार घरधुरीमा पुगिएको उल्लेख गरे । भण्डारीको पत्रमाथि विश्व बैंकका ज्यास्मिन राजभण्डारी र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का विजय सिंहले टिप्पणी गरेका थिए ।
दोस्रो सत्रमा भूकम्प लगत्तै भएको उद्धार तथा राहतका बारेमा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पाखरेलले एक प्रस्तुतीकरण दिए। पोखरेलको कार्यपत्रमाथि युएनडिपीका रामराज नरसिम्हा र नेपाल रेडक्रस सोसाइटीका विपुल न्यौपानेले टिप्पणी गरेका थिए ।
तेस्रो सत्रमा पुनर्निर्माणका लागि भएको सुशासन एवं संस्थागत प्रबन्धमाथि गहन छलफल भएको थियो । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै प्राधिकरणजस्ता विशेष उद्देश्यका संस्थाले तुलनात्मक प्रभावकारी नतिजा दिन सक्ने देखिएको उल्लेख गरे ।
प्रस्तुतिमाथि पूर्व मुख्यसचिव लीलामणि पौड्याल, युरोपेली युनियनका मार्को जेमरले टिप्पणी गर्दै सुझाव दिए। पूर्व मुख्यसचिव पौड्यालले प्राधिकरण निर्माणको बहस हुँदा आफूले अर्थ र सूचनाको कोष रहने र सबै विषयमा निर्णय गर्नसक्ने विशेष संस्था आवश्यक भएकोमा जोड दिएको स्मरण गरे ।
कार्यक्रमको अन्तिम सत्रमा प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनर्निर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको नेतृत्व गरिरहेका प्रा डा गोविन्द नेपाल, डा विश्व पौडेल र डा रुद्र सुवालले अध्ययनको प्रगति अवस्था तथा अनुसन्धानमा अपनाइने प्रणालीबारे प्रस्तुतीकरण गरेका थिए ।
तीनै जनाको प्रस्तुतिमाथि विश्व बैंकका कामरान अकवर, पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ नाइजल फिसर एवं अर्थशास्त्री विशाल थापाले टिप्पणी गरेका थिए । वेविनारको पहिलो दिन निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन एवं पूर्वाधार पुनःनिर्माणमाथि सातवटा कार्यपत्र प्रस्तुत भएका थिए । ती कार्यपत्रमाथि ११ जना टिप्पणीकर्ताले सुझाव प्रदान तथा पृष्ठपोषण दिएका थिए।
वेविनारमा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पुनर्निर्माण र पुनःस्थापनाका अभ्यासकर्ता तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।रासस































प्रतिक्रिया