काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि भन्दै विप्लव माओवादीले सडक आन्दोलन थालेको छ । विप्लव माओवादीले आईतबारदेखि देशैभर सडक आन्दोलन थालेको हो ।
७७ जिल्लामा विप्लव माओवादीले ‘निर्मलालाई न्याय दिन नसक्ने सरकार राजीनामा दे, हत्यारा फाँसी दे, प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पनि विप्लव माओवादीका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।
बलात्कारपछि हत्या भएको चार महिना पुगिसक्दा पनि दोषी पत्ता लाग्न नसकेको भन्दै नेकपाले विरोध प्रदर्शन गरेको हो । निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरबासीले शनिवार आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
नेकपाले अपराधीलाई राज्यले नै संरक्षण गरेको आरोप लगाउँदै आएको छ । राज्यले देखाएको लाचारी, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण आम नेपाल जनसमुदायलाई लज्जित तुल्याएको नेकपाको ठहर छ ।
यसअघि पार्टी पुनर्गठन दिवसको अबसरमा काठमाडौंमा आयोजना गरिएको जनसभामा पार्टी प्रवक्ता प्रकाण्डले निर्मलाको हत्यामा सरकारी मान्छेको संलग्नता रहेको भन्दै दोषीलाई आफ्नो पार्टीले कारवाही गर्ने चेतावनी दिएका थिए । उनले सरकारमै मान्छेले निर्मलाको बलात्कार र हत्या गरेको दावी गर्दै पार्टीले दोषी पत्ता लगाएर जनकारवाही गर्ने चेतावनी दिएका थिए ।





























प्रतिक्रिया