काठमाडौं । विद्यार्थी नेताहरु कतिसम्म अराजक छन् भन्ने विषयलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले पुष्टि गरिसकेको छ । राजनीतिक आडमा संरक्षणको खास्टोभित्र सुरक्षित रहेका विद्यार्थी नेताहरु मतदानको समयमा होस् वा चुनाव नजिकिँदै गर्दा कुन हदसम्म अराजक हुन्छन् त्यो स्पष्ट देखिने गरेको छ ।
यसको गतिलो उदाहरण हो, मंगलबार स्ववियु चुनावको मतदान हुँदै गर्दा पाटन क्याम्पसमा विद्यार्थी नेताबीच भएको झडप । सामान्य स्थितिमा मतदान भैरहेको अवस्थामा एकाएक क्याम्पसको माहोल झडपमा परिवर्तन भएकाे थियाे ।
सामाजिक सञ्जालमा भाइरल भैरहेको भिडियोमा ति विद्यार्थी नेताहरु एक अर्काको टाउको फुटाउन लागि परेको देखिन्थे । मतदान भैरहेको समयमा सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुको कार्यकर्ताबीच झडप भएको थियो । जसबाट अनेरास्ववियुका ४ जना कार्यकर्ता घाइते समेत भएका छन् । दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी, समिक राई घाइते भएका हुन् ।
सुरक्षा दिइरहेको सुरक्षाकर्मीले अराजक विद्यार्थीमाथि लाठीचार्ज गर्नुपर्ने अवस्था समेत बन्यो । अन्य क्याम्पसमा पनि झडपकाे स्थिति बनेकेा थियाे । देशका ठुला दलका भातृ संगठनको विद्यार्थी संगठनले गरेका यस्ता अराजक क्रियाकलापप्रति सांसदहरुले संसदमै विरोध जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बुधबार संसदमा बोल्दै माउ पार्टीहरूले स्ववियु निर्वाचनमा विद्यार्थीलाई उक्साएर पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको आरोप लगाए । उनले भने, ‘यतिबेला स्ववियु चुनावको ताण्डव चलिरहेको छ । युवा विद्यार्थीहरु काटाकाट गरिरहेका छन । दर्जनौं क्याम्पस तालाबन्दी भएको छ । विद्यार्थी संगठनका माउ पार्टीहरु विद्यार्थीलाई लडाउँदै, भिडाउँदै र उक्साउँदै छन् ।’
त्यस्तै, शिक्षा सुधारमा आवाज उठाउन कन्जुस्याँई नगर्ने रास्वपाकी अर्की सांसद सुमना श्रेष्ठले विद्यार्थी नेतामार्फत ठूला भनौदा दलहरुले विश्वविद्यालयलाई ताण्डव गर्ने ठाँउ बनाइरहेको बताइन् । उनले यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘बाहिरि रुपमा हेर्दा विद्यार्थीहरुले अराजक हर्कत गरेको देखिए पनि दलहरुले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरुलाई सिडिको रुपमा प्रयोग मात्र गरिरहेका छन् ।’ सांसदहरुको यस्तो अभिव्यक्तिले के नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी नै पक्ष र विपक्ष विद्यार्थी नेताहरुलाई भिडाउने भूमिका खेलेका हुन् आशंका उब्जिएको छ ।
वास्तविक कुरा के हो त्यो कि त राजनीतिक दलहरुहरुलाई थाहा होला कि त दलहरुबाट परिचालित विद्यार्थी संगठनहरुलाई । जे भएपनि आफूलाई विद्यार्थी संगठनका नेतृत्वकर्ता, अगुवा ठान्नेहरुले विश्वविद्यालयको पढ्ने वातावरण विथोलेका भने अवश्य छन् । त्यसमा कुनै दुई मत छैन । विद्यार्थी संगठनहरुले नै कतै झडप सिर्जना गरेको त कतै तालाबन्दी गरेका कारण कतिपय क्याम्पसहरुले स्ववियुले नेतृत्व नपाउने जस्तै भएको छ ।
मङ्गलबार भएको निर्वाचनमा देशभरि ३८ आङ्गिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । निर्वाचनको मतपरिमाण आउने क्रम जारी छ । विद्यार्थी सङ्गठनको आन्तरिक विवादले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन । ती क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले निर्देशन नै दिएकाे छ ।





























प्रतिक्रिया