काठमाडौं । पछिल्लोसमय उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङबीच ‘शीत युद्ध’ नै चलेको छ । करिव ११ वर्षदेखि नै सुरु भएको डेडिकेटेड तथा ट्रंक लाइन विवाद अहिले चरम उत्कर्षमा पुगेपछि यो अवस्था आइपुगेको हो ।
पछिल्लो समय मन्त्री खड्काले कुलमानलाई पटक–पटक स्पष्टीकरण सोधेका थिए । उनले स्पष्टीकरणमा मात्रै सोधेनन् । आर्थिक वर्ष २०८० र ८१ मा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गर्दै क्ुलमानले मन्त्रालयमा कार्यसम्पादन विवरण बुझाएका थिए । तर समयमै कार्यसम्पादन विवरण नबुझाएको भन्दै उर्जामन्त्री खड्काले कुलमानलाई शुन्य अंक दिएका थिए । कार्यसम्पादनमा कुलमानले आव २०७८ र ७९ मा ९४.२३ र २०७९ र ८० मा ९८.९४ अंक प्राप्त गरेका थिए । लगातार दुई वर्षको कार्यकालमा गरेको काम देखेर कुलमानलाई उज्यालोका देवता भन्ने ट्याग नै दिएका छन् । तर २५ साउन २०७८ मा मन्त्रिपरिषद्को निर्णयबाट दोस्रो पटक नियुक्ति भएका कुलमानको करिव ४/५ महिना मात्रै कार्यकाल छ । तर उर्जामन्त्रीको यो गतिविधि हेर्दा लाग्छ, कुलमानलाई सरकार एक दिन पनि पदमा देख्न चाँहदैन ।
‘कुलमान’माथि सत्ताको प्रतिशोध, बचाउमा प्रतिपक्ष !
गत बुधवार मन्त्री खड्काले राष्ट्रियसभाको रोष्टममा बोल्दै उनले अब घरमै लोडसेडिङ हुने अवस्था आएको बताए । ‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७ सय मेगावाट मात्रै उत्पादन गरेको छ । २ हजार ८ सय मेगावाट विद्यु्त निजीक्षेत्रले उत्पादन गरेको छ। आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भनेका थिए, ‘हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८ सय २५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’
उनले थपे,‘निजीक्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ । त्यस कारण उज्यालोको नायक भनेको उहाँ (कुलमान घिसिङ) होइन है, बरु यो धन्यवाद भारतलाई दिऔँ, निजी क्षेत्रलाई दिऔँ, जसले हाम्रो आवश्यकता पूर्ति गरेका छन् ।’ यसअघि उनले प्रतिनिधिसभा बैठकमा पनि बोल्दै लोडसेडिङ कुलमानका कारण होइन, भारतका कारण अन्त्य भएको बताएका थिए । यति मात्रै हैन, कुलमानलाई उज्यालोका देवता भन्न नमिल्ने टिप्पणी पनि गरेका थिए ।
मेन्छियाम हाइड्रोपावर र लाङटाङ भोटेकोसीको संस्थापक अध्यक्षसमेत रहेका मन्त्री खड्काले गत असार ३१ देखि ऊर्जा मन्त्रालयको नेतृत्वमा सम्हालिरहेका छन्। मन्त्री बनेको ८ महिना हुनै लाग्दा पनि डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउनेदेखि लगानीकर्ताहरूको हित हुने, ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाउने लगायतका काम गर्नुभन्दा पनि कुलमानलाई कसरी हटाउने रणनीतिमा देखिन्छन् ।
पटक–पटक स्पष्टीकरण र कार्यसम्पादमा शुन्य अंक दिएपछि केपी ओली नेतृत्वको सरकारले कुलमानमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप प्रतिपक्षी दलका नेताहरुले लगाएका थिए । डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै कुलमानले बारम्बार ६ वटा उद्योगहरुको लाइन काटेपछि विवाद झन चुलिँदै गएको थियो । गत असार ३० कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पद सम्हालेको केहि दिनमै विद्युत लाइन जोड्न कुलमानलाई निर्देशन दिएका थिए । यो विवादमा पछिल्लो समय मन्त्री खड्का अग्रस्थानमा देखिएपनि सुरुवातीदेखि नै ओली सरकारको आँखामा गडिएका कुलमानको संरक्षकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र छ । हालै माओवादीकी नेतृ ज्ञानु बस्नेतले गत मन्त्रीको राजीनामै माग गरेकी थिइन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि संसदमा खुलेरै संरक्षण गरिरहेका छन्। साउन ४ गते बसेको बैठकमा रास्वपाका सांसद हरि ढकालले डेडिकेटेड ट्रङ्क लाइन विवादमा बक्यौता तिर्न बाँकी उद्योगहरुको विजुली जोड्न निर्देशन दिने प्रधानमन्त्रीले बक्यौता उठाउन पनि निर्देशन दिनुपर्ने भन्दै चर्काे भाषण गरेका थिए । यस्तै, रास्वपाका सांसद मनिष झाले एउटा कुलमानलाई लखेट्यौ भने हजारौं कुलमान लिएर आउने चेतावनी दिएका थिए ।
सत्ता साझेदार दल नेपाली कांग्र्रेसका कतिपय कुलमानमाथि राजनीतिक प्रतिशोध नै भएको टिप्पणी गरिहरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले मन्त्री नै गुमे पनि कुलमानलाई हटाउन नदिने कडा चेतावनी दिएका थिए । यसरी सत्ता साझेदार दलले नै प्रतिवाद गरेपछि केहि व्यक्ति र राजनीतिक स्वार्थका लागि कुलमानलाई केहि महिनाको कार्यकाल नसकिँँँदै हटाउने प्रपञ्च गरिएको देखिन्छ । हाल भारतले पिक अवरमा विजुली नदिँदा १२ घण्टा लोडसेडिङ हुने समाचार बाहिरिएपछि कुलमानले कुनै पनि अवस्थामा घरेलु उपभोक्ताका लागि लोडसेडिङ नगर्ने बताएका छन् । विद्युतको आपूर्ति कम हुँदा त्यसको व्यवस्थापनका लागि रातको समयमा उद्योगहरूमा बिजुली दिन नसकिएको उनको भनाई छ ।
उर्जामन्त्री खड्का र कुलमानको टकरावले उद्योगी मारमा
पछिल्लो समय मन्त्री खड्का र कुलमानबीच भइरहेको टकरावले अद्योगीहरु मारमा परिरहेका छन् । राष्ट्रिय सभामै उद्योगमा मात्रै नभइ घरमा पनि लोडसेडिङ हुने स्थिति भएको मन्त्री खड्काले भनेका थिए । मन्त्रीको उक्त अभिव्यक्ति लगत्तै लोडसेडिङ नहुने बताएका थिए । भारतले चैत ३ तीन गतेदेखिे नेपाललाई १२ घण्टा मात्रै विद्युत दिने निर्णय गरेको थियो । भारतबाट दिनमा २० घण्टा आयात हुँदै आएको विद्युत कटौती भएपछि सोलार आवर (बिहान ६ देखि बेलुका ६ बजेसम्म) मात्रै नेपाललाई विद्युत बिक्री गर्ने भएको हो । भारतले विद्युत कटौती गरेको एक हप्ता हुनै लाग्दा उद्योगीहरु चरम मारमा परेका छन् ।
नेपालमा अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेकाले हिउँदमा विद्युत उत्पादन करिब एक तिहाइमा सीमित हुन्छ। त्यसैले प्राधिकरणले हिउँद सुरु हुनासाथ भारतबाट आयात गरेर बिजुली आपूर्ति गर्दै आएको छ । तर, भारतले पनि घाम लाग्ने समयमा मात्रै विद्युत् दिने भएपछि नेपालमा फेरि लोडसेडिङको जोखिम बढेको हो । कुलमान घिसिङले पिकआवरमा बिहार र उत्तराखण्डबाट १३२ केभी प्रसारण लाइन हुँदै अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म १०० मेगावाट बिजुली ल्याउन सकिने गरी सहमतिको तयारी पनि गरेका थिए, त्यसका लागि नेपाल(भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा बिजुलीको भाउ १ दशलमव ५ प्रतिशत बढाउन भनेका थिए । आवश्यकता अनुसार विद्युत आयात गर्नुपर्दा मात्र उक्त दर तिर्नु पर्नेछ । तर, महंगो प्रस्ताव गरिएको भन्दै उल्टै मन्त्री खड्काले स्पष्टीकरण सोधेपछि यो आफैंमा अलपत्र अवस्थामा छ ।





























प्रतिक्रिया