मेसी र रोनाल्डोपछि को बन्ला विश्व फुटबलको सर्वकालिन महान् खेलाडी ? यी हुन् दौडमा रहेका खेलाडी[भिडियोसहित]

मेसी र रोनाल्डोपछि को बन्ला विश्व फुटबलको सर्वकालिन महान् खेलाडी ? यी हुन् दौडमा रहेका खेलाडी[भिडियोसहित]

केन्द्रबिन्दु
39
Shares

फुटबल खेलको जननी चीनलाई मानिन्छ । इस्वी सम्बत ६०० मा पहिलो पटक चीनमा फुटबल खेलिएको आधिकारिक जानकारी नै पाइन्छ ।

उक्त समयदेखि अहिलेसम्म करिब २६ सय वर्षको दौरान विश्व फुटबलले पेले, डिएगो म्याराडोना, जोहान क्राइफ, अल्फ्रेडो डी स्टेफानो, लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो, फ्रान्ज बेकेनबाउर, पाओलो माल्डिनी, रोनाल्डो नाजारियोलयायत दर्जन भन्दा बढी विश्व फुटबलका सर्वकालिन महान खेलाडी पाइसकेको छ।

माथी उल्लेखित महान खेलाडीहरुले आ–आफ्नो समयमा विश्व फुटबलमा छुट्टै प्रभाव छाड्नुका साथैं विश्व फुटबललाई हेर्ने नजर नै बदलिदिएका थिए । पछिल्लो समय विश्वफुटबलले पाएको महान खेलाडी लियोनल मेसी र क्रिष्टियानो रोनाल्डो हुन् । यी दुई खेलाडीले विश्व फुटबलमा करिब अढाई दशक एकछत्र राज गरेर हाल मेसी अमेरिकी लिग खेल्छन् भने रोनाल्डो साउदी लिगका लागि खेरिरहेका छन्।

यी दुई खेलाडीले आफ्नो जिवनकालमा जित्न सकिने सबै ट्रफी र राख्न सकिने सबै प्रकारका रेकर्ड राख्दै सन्यासको उत्तरार्धमा आइसकेका छन् । सर्वाधिक गोल, सर्वाधिक ट्रफी देखि सर्वाधिक ह्याट्रिकलगायत असंख्य रेकर्ड राख्दै विश्वफुटबलमा भिन्न पहिचान बनाउन सफल रोनाल्डो र मेसीले फुटबलको लोकप्रियता बढाउन अभिन्न भूमिका खेलेका छन् भन्दा अतिश्योक्ती नहोला!

उमेरले मेसी अहिले ३७ वर्षका भए भने रोनाल्डो ४० वर्षका भई सकेका छन् । यस्तोमा अब यी दुई खेलाडीले विश्वफुटबलबाट सन्यास लिएपछि नयाँ जेनरेसनका केलिएन एमबापे, अर्लिङ हाल्याण्ड, भिनिसियस जुनियर, जुड बेलिघंम, लमिल यामललगाय युवा खेलाडीमध्ये कुन खेलाडी सर्वकालिन महान खेलाडी बन्न सक्छन् त भन्ने खुलदुली तपाईंको मनमा पक्कै उब्जिएको होला!

तपाईको त्यो खुलदुली आज हामी यो रिपोर्ट मार्फत मेटाउने प्रयास गर्नेछौं । हामीले यो रिपोर्टमा अहिले युवा अवस्थामा रहेका तर निकै ठुलो सम्भावना बोकेका केही प्रसिद्ध नामहरुलाई खेलाडीहरुलाई समेटेका छौं । हामीले समेटेका खेलाडीहरु नै भविष्यका महान फुटबलर बन्नेछन् भनेर हामी ठोकुवा त गर्न सक्दैनौं तर हामीले उल्लेख गरेका खेलाडीहरुले भविष्यमा विश्वफुटबलमा निकै तहल्का मचाउन सक्छन् भनेर चाँही हामी भन्न सक्छौं ।

हामीले यो रिपोर्टमा अहिले विश्व फुटबलमा आफ्नो स्थान खोजिरहेका खेलाडीदेखि सुनौलो अक्षरमा नाम लेखाउन सफल खेलाडीलाई समेटेका छौं । को बन्ला त भविष्यका सर्वकालिन महान फुटबलर ?
हेरौं यो रिपोर्ट–

केलियन एमबापेः विश्व फुटबलमा केलियन एमबापेको नाम नसुन्ने बिरलै होलान ! अहिलेका पुस्ताका आइडल एमबापेले क्लब तथा विश्वकमा आफ्नो अभुतपूर्व क्षमता देखाई सकेका छन् । हाल स्पेनिस जायन्ट रियल म्याड्रिडमा आवद्ध एमबापेले खेलेका २ वटै विश्वकपमा फ्रान्सलाई फाइनल पुर्याएका थिए ।

सन् २०१८ को फाइनलमा क्रोयसियालाई हराएर विश्वकप नै जितेको एमबापेले दोस्रो विश्वकपमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्नुका साथैं अविष्मरणीय प्रदर्शनी गरेका कारण गोल्डेन बल नै जित्न सफल भएका थिए । एमबापेले समग्र २ विश्पकपमा १२ गोल गर्नुका साथैं सन् २०१८ को विश्वकपमा युवा वर्ष खेलाडी तथा सन् २०२२ को विश्वकपमा प्रतियोगिताकै सर्वाधिक सफल खेलाडीको उपाधि जित्न सफल भएका थिए।

२० डिसेम्बर १९९८ मा जन्मिएका एमबापे २६ वर्षका मात्रै छन् । ६ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका एमबापे मोनाको पीएसजी हुँदै हाल युरोपकै सर्वाधिक सफल क्लब रियल म्याड्रिडका लागि खेल्छन् ।

१६ वर्षको उमेरमै सिनियर टोलीमा डेब्यू गरेका एमबापेले सन् उक्त विश्वकपमा फ्रान्सका लागि ४ महत्वपूर्ण गोल गरेका थिए । जसमा क्रोएसियाविरुद्ध फाइनल खेलमा गरेको १ गोल पनि समावेश छ। अभूतपूर्व ड्रिब्लिङ क्षमताका एमबापे असाधारण गतिका साथ उत्कृष्ट फिनिसिङका लागि चिनिने गर्छन । ५ वर्ष पीएसजीमा खेल्ने क्रममा एमबापेले १९० गोल गर्नुका साथैं ५ लिग वान कप, कप डे फ्रान्स, र कप डे ला जिताई सकेका छन्।

अहिले नयाँ पुस्ताका आइड बनेका एमबापे भने आफूभन्दा १४ वर्ष जेठा सर्वकालिन महान खेलाडी क्रिष्ट्रियानो रोनाल्डोलाई आइडल मान्छन् । एमबापे बाल्यकालदेखि नै रोनाल्डोका फोटो कोठाको भित्तामा सजाउँदै आएका छन् । दुई संस्करणको विश्वकप खेलेका एमबापेले १२ गोल गर्दै एक विश्वकपको ट्रफी पनि जितिसकेका छन्।

विश्वकपमा गोल गर्ने मामिलामा एमबापेले लेजेन्ड पेले र क्रिस्टियानो रोनाल्डोलाई पछि पारिसकेका छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसी एमबापेभन्दा एक गोलले मात्रै अघि छन् । तर, मेसीले भने पाँच संस्करणको विश्वकप खेल्दै १३ गोल गरेका थिए ।

विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोज हुन् । उनको नाममा १६ गोलको रेकर्ड छ । एमबापेले यी सबै रेकर्ड सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोद्धारा संयुक्त आयोजना गरिने विश्वकपमा तोड्न सक्ने क्षमता देखाइ सकेका छन्।

२६ वर्षको उमेरमै संसारकै सबैभन्दा महङ्गो खेलाडी बनेका एमबापेको क्षमतालाई बराबरी गर्न म्यानचेष्टर सिटीका अर्लिङ हाल्यान्ड र रियल म्याड्रिडका भिनिसियस जुनियर र बार्सिलोनाका लमिन यामललाई हेरिएको छ । यी तीनै खेलाडीले मेसी र रोनाल्डोको युगलाई बिर्साउदै नयाँ युगको सुरुवात गर्न सक्ने आँकलन गरिएको छ।

अर्लिङ हाल्याण्डः प्रिमियर लिगका सुपर स्टार तथा विश्व फुटबलका भविष्य अर्लिङ हाल्याण्डलाई एमवापेपछि भविष्यका सर्वकालिन महान खेलाडीका रुपमा हेर्न थालिएको छ।

हालान्डको जन्म सन् २००० को जुलाई २१ तारिखका दिन इंल्यान्डको लिड्स सहरमा भएको थियो । पाँच वर्षको उमेरमै स्थानिय क्लब ब्रायन एकेडेमीमा आवद्ध हाल्यान्डको स्पिड र पावरको अगाडि डिफेन्डरहरु पनि नतमस्तक हुने भएकाले उनलाई ‘रोबोट’ उपनाम दिइएको छ ।

उनी विपक्षी टोलीकाविरुद्धमा बलसहित मेसिन जस्तै दौडिन सक्छन् । सन् २०१८ मा अस्ट्रेलियन क्लब रेड बुल साल्जबर्गमा आबद्ध हाल्याण्डले त्यसको एक वर्षमै जर्मन क्लब बोरुसिया डर्टमण्डमा २० मिलियन युरोमा अनुबन्ध भए ।

वर्तमान विश्व फुटबलका चर्चित युवा स्टार हालान्डले साढे दुई वर्ष डर्टमण्डमा रहँदा ८९ खेल खेल्दै ८६ गोल गर्नुका साथैं २३ गोलका लागि असिस्ट् पनि गरेका थिए । यसका साथैं उनले जर्मन कप जित्नुका साथैं बुण्डेसलिगा प्लेयर अफ दि सिजनको अवार्ड समेत जितेका थिए।

इङ्लिस प्रिमियर लिगमा एकै सिजनमा सर्वाधिक गोल गरेर नयाँ कीर्तिमान बनाएपछि हालान्डलाई गार्ड अफ अनर पदवीले सम्मान पनि गरिएको थियो । जर्मन क्लबमा असाधारण प्रदर्शन गर्दा विश्व फुटबल क्लबको नजर हाल्याण्ड माथी परेको थियो।

तर नर्वेजियन स्टार हाल्याण्डले अरु सबै क्लबको आकर्षक अफरहरु टुक्राउँदै इङ्लिस क्लब म्यानचेस्टर सिटीका ५१ मिलियन पाउन्डमा ५ वर्षका लागि आबद्ध भए । हाल सिटीकै लागि खेलिरहेका हाल्याण्डले सिटीलाई इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग जिताउनुका साथैं घरेलु लिग इङ्लिस प्रिमियर लिग(इपिएल) र एफए कप जिताएर इङ्लिस इतिहासमै दोस्रो र सिटीलाई पहिलो पटक ट्रेबल जिताउन सफल भए । यसअघि ट्रेबल जित्ने एक मात्र क्लब म्यानचेष्टर युनाइटेड हो।

हाल्याण्डले सिटीमा आबद्ध भएपछि क्लबका लागि २ वटा लिगकप, एउटा युरोपियन सुपर कप र एउटा इङ्लिस सुपरकप जिताई सकेका छन् भने २०२२–२३ को सिजनभर सर्वोत्कृष्ट प्रदर्शन गरेका कारण हाल्याण्डलाई युरोपकै सर्वाधिक सफल खेलाडीलाई दिईने युइएफए बेष्ट प्लेयरको ट्रफी दिनुका साथैं गोल्डेन बल पनि जितेका थिए । यसका साथैं हाल्याण्डले उक्त वर्ष प्लेयर अफ दि इयरको उपाधि पनि जितेका थिए।

३ सिजन सिटीमा बिताउने क्रममा हाल्याण्डले ८४ गोल गर्नुका साथैं १६ असिस्ट पनि गरिसकेका छन् । क्लबका लागि सर्वोत्कृष्ट प्रदर्शन गर्दै आएका हाल्याण्डले नर्वेका लागि भने अहिलेसम्म सम्झन योग्य कुनै प्रदर्शन गर्न सकेका छैनन् । तर हाल्याण्डको प्रदर्शन हेर्ने हो भने उनले आगामी दिनमा नर्वेका लागि सम्झन योग्य प्रदर्शन गर्नुका साथैं २८ वर्षपछि फिफा विश्वकपमै छनौट गराउन सफल हुनेछन् भन्ने आंकलन पनि सहजै गर्न सकिन्छ।

भिनिसियस जुनियरः ब्राजिल तथा रियल म्याड्रिडका सुपर स्टार भिनिसियस जुनियरको खेल कौशल, ड्रिब्लिङ र स्किल हेर्दा लाग्छ उनी पनि भविष्यको महान खेलाडी बन्न आतुर छन् । उमेरले २५औं बसन्त टेकेका भिनीले रियल म्याड्रिड र ब्राजिल दुबैका लागि आरोहअवरोह दुबै देखिसकेका छन् । रियलका लागि सबै उपाधि जितिसकेका भिनीले ब्राजिलका लागि उल्लेख्य प्रदर्शन अझैं गर्न सकेका छैनन्।

सन् २००० को जुलाई १२ तारिखका दिन साओ गोन्कालोमा जन्मिएका भिनीले आफ्नो व्यावसायिक करियर फ्लेमेन्गोबाट सुरु गरेका थिए । १६ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यू गरेका भिनीले त्यसको केही हप्तामै स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध हुने मौका पाए ।

बहुमुखी प्रतिभाका धनि भिनीले खुट्टामा बल पाएपछि विस्फोटक गति, उत्कृष्ट ड्रिब्लिङ, सन्तुलित नियन्त्रणका साथ विपक्षी खेलाडीको मैदानमा धावा बोल्न सिप्पालु छन् । ब्राजिलको फुटबल कल्चरबाट हुर्किएका भिनी सन् २०१७ मा क्लब फ्लेमेन्गोबाट रियलमा आबद्ध भएका थिए ।

रियलका लागि खेल्ने क्रममा फिफा बेष्ट प्लेयरको अवार्ड जितिसकेका भिनीले क्लबका लागि २ वटा च्याम्पियन्स लिग, २ वटा क्लब विश्वकप, ३ वटा ला–लिगा, २ वटा युरोपियन सुपरकपलगायत दर्जन भन्दा बढी ट्रफी जिताउन मद्दत गरिसकेका छन् । मेसी र रोनाल्डो दुबैले स्पेन छाडिसकेपछि तहल्का पिट्न सुरु गरेका भिनीले अहिलेसम्म रियलका लागि १०० भन्दा बढी गोल गर्नुका साथैं दर्जनौं असिस्ट पनि गरेका छन्।

लामिन यामलः पछिल्लो समय युवा खेलाडीमध्ये सर्वाधिक चर्चामा रहेका र सर्वाधिक रुचाइएका युवा खेलाडी हुन् स्पेनका लामिन यामल । उमेरले भर्खर १८ वर्षको मात्रै लामिनले सानैं उमेरमा विश्व फुटबलमा गहिरो छाप छाड्न सफल भइसकेका छन् । सन् २०२४ मा जर्मनीमा सम्पन्न युरोकपमा युवा वर्ष खेलाडीको उपाधि जित्न सफल लामिनले सेमिफाइनलमा फ्रान्सविरुद्ध १ उत्कृष्ट गोल गर्नुका साथैं ४ असिस्ट समेत गरेका थिए। उक्त संस्करणको युरोमा लामिन सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत बनेका थिए।

सन् २००७ को जुलाई १३ का दिन स्पेनस्थित बार्सिलोनाको छिमेकी शहर रोकाफोन्डामा जन्मिएका यामलले सन् २०१२ देखि नै बार्सिलोनाको युथ टिमबाट खेल्न सुरु गरिसकेका थिए । ५ वर्षको उमेरमै बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका यामलका आमाबाबु भने स्पेनिस होइनन् । उनको बाबु मोरक्कन हुन् भने आमा गुएनाकी हुन् । निकै कलात्मक तरिकाले फुटबल खेल्दै यामलले बार्सिलोनाका लिजेन्ड लियोनल मेसीलाई पनि कहिलेकाँही खेल कौशल मार्फत बिर्साउने गर्छन् ।

सन् २०२३ मा रियल बेटिसविरुद्ध ला–लिगामा डेब्यू गरेका यामलले हालसम्म बार्सिलोनाका लागि ३ सिजन खेल्दै २१ गोल गर्नुका साथैं २७ गोलका लागि असिस्ट् पनि गरिसकेका छन् । अहिले निकै राम्रो फर्ममा रहेका उनी बार्सिलोनाबाट लालिगा र च्याम्पियन्स लिग जित्न आतुर छन्।

जुड बेलिंघमः मेसी र रोनाल्डोपछि सर्वकालिन महान खेलाडीको रेसमा इंग्ल्याण्ड जुड बेलिंघमलाई पनि हेर्न सकिन्छ । उमेरले २१ वर्ष मात्रै छोएका जुडले विश्वकप र युरोकप जस्ता ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुका साथैं ती प्रतियोगिताहरुमा आफ्नो गतिलो प्रभाव पनि छाडेका छन् । सन् २०२३ मा बोरुसिया डर्टमण्डबाट स्पेनिस जायन्ट रियल म्याड्रिडमा आवद्ध जुडले विश्व फुटबलका महान खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्नुका साथैं उनीहरुविरुद्ध मैदानमा पनि उत्रेका छन्।

सन् २००३ को जुन २९ गते इङ्ल्याण्डको स्टौरब्रिजमा जन्मिएका जुडको बुवा वेस्ट मिडल्याण्ड्सको रिटार्यड पुलिस सार्जेन्टका साथैं पूर्व खेलाडी हुन् भने आमा मानव संसाधनमा काम गर्छिन । जुड बेलिंघमको प्रारम्भिक जिवन स्थानिय क्लब बरिङ्घम सिटीका लागि उमेर समुहअन्तर्गत अन्डर ८ मा आवद्ध भएका थिए।

१७ वर्षको उमेरमा अर्थात सन् २०२० मा जर्मन क्लब बोरुसिया डर्टमन्डमा २५ मिलियन युरोमा अनुबन्धित जुडले २४ गोल गर्नुका साथैं २५ गोलका लागि असिस्ट् पनि गरेका थिए । डर्टमन्डमा रहँदा ठुला क्लबविरुद्ध सधैं सर्वोत्कृष्ट प्रदर्शन गरेका कारण सबैको आखाँमा परेका जुडलाई भित्राउन ठुला क्लबहरुको होडबाजी नै चलेको थियो । जुडको सोही प्रदर्शनको बाबजुत उनले बुन्डेसलिगा प्लेयर अफ द सिजनको अवार्ड पनि जितेका थिए।

डर्टमन्डमा रहँदा विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्न सक्ने क्षमता देखाएका जुडले सबै क्लबको अफर टुक्राउँदै अन्ततः स्पेनिस महारथी रियल म्याड्रिडलाई रोजेका थिए । १३३ मिलियन युरोमा ६ वर्षका लागि रियल म्याड्रिडमा आबद्ध जुडले रियलका लागि कीर्तिमानी ३६ औं ला–लिगा र १५औं च्याम्पियन्स लिगको ट्रफी जिताउन अभिन्न भूमिका निभाएका थिए । हाल रियलका लागि सबैभन्दा महत्वपूर्ण खेलाडीका रुपमा उभिएका जुड इङ्ल्याण्डका लागि पनि उत्तिकै धारिलो हतियार बनेर बन्दै आएका छन् ।

सन् २०२० मा आयरल्याण्डविरुद्ध मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका जुडले हालसम्म इङ्ल्याण्डका लागि ४० खेल खेल्दै ६ गोल गर्नुका साथैं १५ गोलका लागि असिस्ट् पनि गरेका छन् । विशेषगरी मिडफिल्डमा अविश्वसनीय प्रतिभा देखाउन माहिर जुडले आवश्यक परेको खण्डमा बलियो रक्षात्मक खेल्नुका साथैं ड्रिब्लिङ र पासिङ गर्दै उत्कृष्ट गोल गर्न पनि माहिर मानिन्छन्।

हामीले माथी उल्लेख गरेका युवा खेलाडी बाहेक मेसी र रोनाल्डोको समयका नेयमार जुनियर, मोहम्मद सलाह, लुका मोड्रिच, करिम बेन्जिमा, लुइस स्वारेज, एंड्रेस इनिएस्टा, सर्जियो रामोस, ज्लाटन इब्राहिमोविच, आर्जेन रोबिन, वाइन रोनी, काका, फ्राङ्क रिबेरीलगायत दजर्न भन्दा बढी खेलाडीहरु विश्वफुटबलमा लेजेन्ड खेलाडीका रुपमा उदाएका छन् । मेसी र रोनाल्डोले जस्तै माथी उल्लेख गरिएका खेलाडीहरुले पनि भिन्नै छाप छोड्न सफल भएका थिए।

फुटबलमा असाधारण प्रदर्शन गरेका, विश्व समुदायले मानेका, सम्भावित सबै रेकर्ड र ट्रफी जित्न सफल खेलाडीलाई नै विश्व समुदायले सर्वकालिन महान खेलाडीका रुपमा चिन्दै र मान्दै आएका छन् । भविष्यमा पनि मेसी र रोनाल्डोले जस्तै असाधारण प्रदर्शन गर्न सक्ने खेलाडीहरुको कुनै कमी नभएकाले हामीले सम्भावित केही विशेष खेलाडीहरुको नाम र उनीहरुले विश्व फुटबलमा पुर्याएको योगदानलाई समेटेर यो रिपोर्ट तयार पारेका हौं ।

हाम्रो लिष्टमा समावेश नभएका युवा खेलाडीहरु पनि भविष्यमा महान फुटबलर बन्ने उत्तिकै सम्भावना बोकेका हुन सक्छन्।

Skip This
Skip This
Logo