सीके राउतलाई पार्टी अध्यक्षमा कसरी स्वीकार्‍यो नाउपाले ?

सीके राउतलाई पार्टी अध्यक्षमा कसरी स्वीकार्‍यो नाउपाले ?

केन्द्रबिन्दु
528
Shares

काठमाडौं । नागरिक उन्मुक्ति र जनमत पार्टीबीच हुने एकताको प्रक्रिया औपचारिक रुपमा अगाडि बढेको छ । पार्टी एकताको लागि नाउपा र जनमत दुवै पार्टीबीच सहमती भएपछि कार्यदल नै गठन प्रक्रिया अगाडि बढेको छ । नाउपाबाट कार्यदलमा गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु रहेका छन् भने जनमतबाट कार्यदलमा उपाध्यक्ष अब्दुल खान, डा. शरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् ।

लामो समयदेखि पार्टी एकताको विषय अगाडि बढ्न नसक्दा अन्यौल थियो । अहिले औचारिक रुपमै प्रक्रिया अगाडि बढेपछि उक्त अन्यौल विलाएको छ ।

लामो समयदेखि जनमतसँग गर्ने पार्टी एकताको विषयलाई अगाडि बढाउन तीन सदस्यीय कार्यदल नै गठन गरी औपचारिक प्रक्रिया अगाडि बढाएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठले बताइन् । सोमवार केन्द्रविन्दु डट कमसँग टेलिफोन संवाद गर्दै आइतवार जनमतले गठन गरेको कार्यदल र नाउपाले गठन गरेको कार्यदल मिलेर बैठक बसेपनि एकताको विषयमा कुनै पनि छलफल भएन नभएको बताइन् ।

हिजोका दिनमा पार्टी एकता नगर्ने अडान लिएकी अध्यक्ष श्रेष्ठ अहिले जतिसक्दो छिटो पार्टी एकता होस् भन्ने चाहन्छिन् । पार्टी एकता गर्ने छलफल पहिलादेखि नै भएपनि कार्यव्यस्थताका कारणले अगाडि बढ्न नसेकेको उनले नै स्वीकारिन् । उनले भनिन्, ‘म लगायत नाउपाका संरक्षक रेशम चौधरी र जनमतका अध्यक्ष सीके राउत बसेर छलफल गर्यौं दुवै पार्टीको सिद्धान्त, विचार मिल्ने भएकाले अहिले एकता प्रक्रिया अगाडि बढेको छ । जतिसक्दो छिटो चाँहि टुङ्गो लाग्छ ।’

एकता गरेर मिलेर जाने भनिसकेपछि कुनै कुरामा बलिदान गर्नुपर्ने कुरामा पनि नाउपा तयार भएको छ भने जनमत पनि तयार रहेको दुवै पक्षका नेताहरु बताउँछन् । जनमत राष्ट्रिय पार्टी भएको नाताले पनि सीके राउतले नयाँ पार्टीको नेतृत्व लिने पक्कापक्की छ ।

नयाँ पार्टीको अध्यक्षमा तपाईंको इच्छा छैन ? भन्ने प्रश्नमा श्रेष्ठले भनिन्, ‘नाउपाका मतदाताले पनि अध्यक्ष हुँ भन्ने त चाहन्छन् र चाहनु पनि पर्छ । पार्टी खोलेको छोटो समयमै यति सफलता मिल्नु नै मतदाताको साथ सहयोग नै हो । उहाँहरुको वैचारिक मतलाई कुल्चिएर अगाडि बढ्दैनौं । यो कुरालाई मान्य सीके राउतले पनि स्वीकारी सकेका छन् । त्यो विषयमा पनि छलफल हुन्छ र नतृत्वको विषयमा कुनै विवाद नगरी अगाडि बढ्छौँ । नाउपाका साथीहरुले आफ्नै पार्टीको अध्यक्ष होस् भन्ने चाहेको कुरालाई पनि मर्न दिन्नौँ । त्यसका लागि छलफलमा छौँ हामी ।’

नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी, चुनाव चिन्ह ढकिया राख्ने विषयमा चर्चा भइरहे पनि टुङ्गो भने लागेको छैन । यस्तै, नयाँ पार्टीको झण्डा पनि दवै पार्टीको झण्डालाई छलफल गरी बनाउने तयारीमा रहेको दवै पक्षको भनाइ छ ।

श्रेष्ठ थप्छिन्, ‘यो विषयमा क्रमबद्ध रुपमा छलफल गरेर नै अगाडि बढ्छौँ । यसमा कुनै विवाद नगरी मिलेर जान्छौँ । संरक्षक चौधरी अध्यक्ष राउत र मैले छलफल गर्दा पनि मिलेरै जाने कुरा भएको छ । नयाँ पार्टी बनिसकेपछि म भोलिका दिनमा अध्यक्षका रुपमा रहन्छु रहदिन भन्ने कुरा अहिले भन्न नसक्ने उनले बताइन् । यो विषयमा छलफल भइरहेको छ । छलफलबाट निष्कर्ष निष्किन्छ । त्यो चाँहि मैले सहर्ष रुपमा स्वीकार्छु ।’

जनमतसँगको एकता दीर्घकालिन नै रहने अध्यक्ष श्रेष्ठको विश्वास छ । ‘यो एकीकरण दीर्घकालिनका लागि लैजानका लागि सुदूरपश्चिमबाट उदाएको पार्टी र पूर्व मधेशबाट उदाएको पार्टी मिलेर अगाडि बढ्दाखेरी हामी पुरै भुगोललाई समेट्न सक्छौँ भन्ने हिसावका साथ हामी मिलेका छौँ ।’

पार्टी एकता भएर संसदमा पनि बलियो शक्तिका रुपमा रहने दुवै पक्षको तयारी तिब्र छ । उनका अनुसार, ‘दुवै पार्टीबीच एकता भएर नयाँ पार्टी ठगन भएपछि संसदभित्र पनि बलियो शक्तिका रुपमा प्रवेश गर्नसक्छौँ भन्ने दुवै जनाले महशुस गरेको कुरालाई त्यहा गइसकेपछि पहिलाभन्दा बलियो शक्तिशाली नै हुन्छ । एकतापछि संसद प्रवेश बलियो शक्तिका रुपमा नै हुन्छ । बलियो रुपमा नै संसद बाहिर पनि रहन्छौँ ।’

पार्टी एकताको तयारी तिब्र पारेका जनमतका अध्यक्ष यादवले नाउपाको केन्द्रिय समितिको बैठकमै सम्बोधन गरेर अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीसँग छलफल गरिसकेका छन् ।

जनमत पार्टीका उपाध्यक्ष एवं कार्यदलका संयोजक अब्दुल खानले पार्टी एकताको विषय बैशाख पहिलो सातासम्म टुंगिने प्रबल सम्भावना रहेको बताएका छन् ।

सोमवार केन्द्रविन्दु डटकमसँग टेलिफोन संवादमा उनले भने, ‘पार्टी एकताको विषयमा नागरिक उन्मुक्ति पार्टीले कार्यदल गठन गरिसकेपछि दुई पार्टीका कार्यदलका सदस्यहरुले विगतमा मधेशवादी दलहरुले गरेको एकीविकरण र फुट, आगामी बैठकमा के-के विषयमा छलफल गर्ने कहिले सम्म बैठक बस्ने लगायतका विषयमा मात्रै छलफल भयो । पार्टी एकताको विषयमा अहिलेसम्म कार्यदलबाट कुनै विषयमा पनि लागेको छैन । अनौपचारिक रुपमा नेताहरुको बीचमा छलफल भएको छ । कार्यदलको पहिलो बैठकमा नयाँ पार्टीको नाम, चुनाव चिन्ह र झण्डा के राख्ने भन्ने विषयमा छलफल भएको छैन । कार्यदलको बैठक चैत महिनाभरी बस्छ र त्यहींबाट टुङ्गो लाग्छ ।’

नयाँ पार्टीको मोडालिटी कस्तो बनाउने, विधान, नियमावली, केन्द्रिय समितिको कुरा, केन्द्रिय समितिबाट अनुमोदन गराउने कुराहरु लगायतका विषयमा छलफल गरेर राजनीतिक सिद्धान्त र विचारका विषयको बारेका कार्यदलले नै टुङ्गो लगाउने भएकोले चैत महिनाभर निरन्तर रुपमा कार्यदलको बैठक बस्ने उनले बताए । ‘पार्टी एकताको लागि सबै प्रक्रिया पूरा भएपछि त्यसलाई आ–आफ्नो पार्टीको केन्द्रिय समितिबाट अनुमोदन गरी निवार्चन आयोगमा बुझाएर दर्ता प्राप्त गरिसकेपछि आधिकारिक मानिन्छ ।’ उनले भने ।

Logo