तला थप्ने होडबाजीले अन्योलमा काठमाडौं भ्यू टावर, बालेनले भत्काइदिने संकेत गर्दा टाउको दुखाईमा भेटवाल

तला थप्ने होडबाजीले अन्योलमा काठमाडौं भ्यू टावर, बालेनले भत्काइदिने संकेत गर्दा टाउको दुखाईमा भेटवाल


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पुरानो बसपार्क क्षेत्रमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ भत्काउने संकेत देखाएसँगै अहिले यस विषयले माहोल तताएको छ । अवैधानिक तरिकाले महानगरबाट नक्सा स्वीकृत गरी तला थप्ने प्रक्रिया अगाडि बढ्दा बालनले भ्यू टावरै भत्काउने आशय देखाएको विषय बाहिरिएको हो ।

यद्यपि काठमाडौं महानगरले भ्यू टावर भत्काउने विषयमा अहिलेसम्म औपचारिक निर्णय भने गरिसकेको छैन । भ्यू टावरको १२औं तलाको काम सम्पन्न गरेर बसेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि बाँकी तला थप गरेर सञ्चालनमा ल्याउने योजना बनाई भवनलाई अलपत्र अवस्थामा छाडेर बसेको छ ।

भ्यू टावरमा तला थप्न अवैध तरिकाबाट महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले स्वीकृति दिएसँगै मेयर बालेन भ्यू टावरको विषयलाई लिएर रुष्ट छन् । निर्णय बिनै गुरागाईंले भ्यू टावर तला थप्न अनुमति दिएको खुलासा भएसँगै उनलाई महानगरले जिम्मेवारीबाट निलम्बन गरेको हो । जसको छानबिन समिति बनाए छानबिन गरेता पनि उक्त समितिले निर्दोष रहेको निचोड निकालेपछि सो प्रतिवेदन प्रतिवेदन बुझ्न बालेनले नमानेको बताइएको छ । महानगरका अनुसार गुरागाईंले अब थप भ्यू टावर ७ तला थप्ने अनुमति स्वीकृत गराएका थिए ।

गुरागाईं निलम्बनमा परी महानगर प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा कर्मचारीको तलब ३ महिनादेखि रोकिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाईं पुनः नियुक्त दिन पत्र पठाए पनि बालेनले नियुक्ति नदिने अडान लिएसँगै यो विवादले अनेक पक्षलाई जोड्दै उग्र रूप लिँदै छ ।

निर्माण कम्पनीका अध्यक्ष मनोज कुमार भेटवालले २९ तलाको भ्यू टावर बनाउने उद्देश्य सहित यो आयोजनाको काम अगाडि बढाएका हुन् । तर, वि.सं. २०७२ सालको भूकम्पपछि उक्त टावर १२ तले बनाउने निर्णय भई सोही अनुसार सम्झौता भएको थियो । जस अनुरूप निर्माण कम्पनीले २०७१ सालमा सम्झौता गरी २०७२ कार्तिकबाट उक्त भ्यू टावर निर्माणको काम सुरु गरेको थियो ।

निर्माण सम्पन्न गर्ने मितिमा निर्माण कम्पनीले टावरको काम नसकेपछि ५ लाख रुपैयाँ जरिवाना तिरेर नक्सा प्रमाणीकरण गरी सो बेला समय अवधि लम्बाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । यद्यपि उक्त नक्सा प्रमाणीकरण आधारलाई टेकेर तला थप्ने अनुमति गुरागाईंले दिएको उनको भनाई छ ।

‘ठेकेदार कम्पनीले समयमै काम नसकेपछि समय थपेर नक्साको पुनः प्रमाणीकरण गरी जरिवाना तिराइएको थियो, त्यसैलाई आधार मान्ने उहाँले तला थप्ने अनुमति दिनु भएछ, अहिले पास गरेको नक्सा वैधानिक नभई अवैधानिक हो, यो ७ तला थप्ने विवाद हो,’ उनले भने ।

निर्माण सुरु गरेको ९ वर्ष बितिसक्दा सो टावर सञ्चालनमा आउने छाँटकाँट छैन । भेटवाललाई बनाउनै सकस परिएको उक्त टावर तला थपको अनुमति पाएपछि अझै आयोजना अन्योलमा पुग्ने अनुमान गर्न सकिन्छ ।

भत्किएला भ्यू टावर ?

पछिल्लो समय भ्यू टावर भत्काउने, सञ्चालनमा ल्याउने वा तला थप्ने भन्ने विषयलाई चासोको रूपमा हेर्न थालिएको छ । तर, भ्यू टावर भत्काउने टुङ्गो छैन । भ्यू टावर भत्काउने विषयले चर्चा पाएता पनि बालेनले यस विषयमा आधिकारिक अभिव्यक्ति दिएको पाइँदैन ।

तथापि बालेन सचिवालयका पदाधिकारीले भने भ्यू टावर भत्काउने चान्स रहेको बताउँदै आएका छन् ।

तर, निर्माण कम्पनीका अध्यक्ष मनोज कुमार भेटवाल भने टावरका बारेमा अनोकौं अभिव्यक्ति आए पनि भत्काउन असम्भव रहेको बताउँछन् । केन्द्रबिन्दुसँग कुरा गर्दै भेटवालले भ्यू टावर भत्काउन नसकिने, तर तला थप्न सकिने धारणा राखे । ‘जुहारी खेल्नु हुँदैन, जुहारी खेल्दाको परिणाम कस्तो आउँछ, त्यो सबैलाई थाहा छ, यसलाई सहज रुपले लिनुपर्छ, भत्काउनलाई भ्यू टावर छाप्रो होइन,’ उनले भने ।

यस्तै, महानगरका प्रवक्ता मानन्धरले पनि तला थप्नमा भन्दा फिनिसिङ गरेर सञ्चालनमा ल्याउन निर्माण कम्पनी लाग्नुपर्ने जानकारी दिए । वैधानिक तरिबाट भ्यू टावरको नक्सा १२ तलाको स्वीकृत रहेको मानन्धरले प्रष्ट पारे ।

‘भत्काउने विषय बालेनको हैन, उहाँका केही मान्छेले बोलेको हो, कानुनबाट भत्काउने हो वा बल प्रयोग गरेर मेसिनबाट भत्काउने त्यो थाहा छैन, यो बोर्डको निर्णय चाहिँ होइन,’ उनले भने । बालेन मेयरमा रहेसम्म तला थप्ने निर्माण कम्पनीलाई अधिकार प्राप्त नहुने मानन्धरको भनाई छ ।

भ्यू टावर कानुनी रूपमा भत्काउन आधार नरहेको पनि उनको धारणा छ । ‘लगानी यसमा धेरै भइसकेको छ, यसलाई तला थप्नामा भन्दा फिनिसिङ गरेर सञ्चालनमा ल्याए राम्रो हुन्छ,’ मानन्धरले भने ।

भेटवालको टाउको दुखाई बनेको भ्यू टावर

आर्थिक संकटबाट गुज्रिँदै निर्माण भइरहेको भ्यू टावरको काम १२औं तलामा पुगेर महिनौंदेखि अड्किएको छ । गत वर्ष पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक टोलीको अध्ययनले टावर २७ तलासम्म निर्माण गर्न सकिने ठम्याएसँगै निर्माण कम्पनीले तला थप्ने आशामा फिनिसिङ नगरिकन बसको पाइन्छ ।

तर, तला थप्ने अधिकार नदिएपछि महानगरबाट अनियमित तवरको बाटो रोजेको देखिन्छ । जे होस् भेटवाल बैंकको कालोसूचीमा रहेका व्यक्ति हुन् । बैंकको कालो सूचिमा रहेका उनलाई लगानी गर्नमा बैंकले पत्याउने आधार भएन । कुनै परियोजना बन्दा जगबाटै बैंकको लगानी हुने गर्छ । तर, कालोसूचीमा रहेका भेटवालको सो आयोजनामा बैंकिङ लगानी नभएको बताइन्छ ।

भेटवालले अहिलेसम्म व्यक्ति वा सर्वसाधारण पैसा उठाउँदै लगानी गरिरहेका छन् । अहिलेसम्म टावरमा क–कसको लगानी छ भनेर खुलेको छैन । टावर निर्माणका लागि पर्याप्त बजेट भेटवालसँग नहुँदा तला थपिएको खण्डमा टावरको काम सक्न अझै वर्षौं लाग्ने देखिन्छ ।

आयोजना काम अन्योलमा रहँदा लगानीकर्तालाई समेत अफ्ठयारो अवस्थाको सिर्जना भएको सहजै महसुस गर्न सकिन्छ । तला थप्ने होडबाजीले भ्यू टावर अझै सञ्चालनमा आउन लामो समय लाग्ने बताइएको छ ।

करिव ८० प्रतिशत काम पूरा भएको टावर काठमाडौं महानगरको जग्गामा बनाइएको छ । निर्माण सम्पन्न भएको ३० वर्ष कम्पनीले उपभोग गर्न पाउने र त्यसपछि भवन महानगरलाई फिर्ता गर्नुपर्ने हुन्छ । सञ्चालन अवधिमा पनि भवनबाट उठेको रकमबाट व्यवसायीक कर भने महानरलाई बुझाउनु पर्ने प्रवक्ता मानन्धरले जानकारी दिए ।

नेपाली कला र संस्कृति झल्काउने योजना रहेको उक्त टावर २३ रोपनी पाँच आना जग्गामा बन्दैछ । जसमध्ये ४० प्रतिशत भूभागमा संरचना रहेको छ भने ६० प्रतिशत भाग खाली र बाँकी ठाउँमा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री बनाउने गरी टावर बनाइएको हो । व्यवसायिक उक्त टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, रेष्टुरेन्ट, बैंक आदि हुनेछन् ।

सम्झौता हुँदा तीन अर्ब ८५ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा कति लगानी भयो भने अहिलेसम्म निर्माण कम्पनीले बाहिर ल्याएको छैन ।

Skip This
Skip This
Logo