काठमाडौं । अभिनेता एवं निर्देशक दीपकराज गिरीले वर्तमान शासन व्यवस्था सञ्चालन गर्ने शैली राम्रो नभएकै कारण राजसंस्था पुनर्स्थापनाको माग उठेको भन्दै सत्ताको नेतृत्व गर्नेहरुलाई सच्चिन आग्रह गरेका छन् ।
गत बिहीबार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका प्रबुद्ध नागरिकहरूको अन्तरक्रियात्मक भेलामा सहभागी भएपछि ‘राजावादी’को ट्याग भिरेका अभिनेता गिरीले आज सामाजिक सञ्जालमार्फत आफ्नो ‘राजावादी’ यात्राबारे प्रष्ट्याउँदै देश चलाउनेहरुको कार्यशैलीमाथि व्यंग्यात्मक आलोचना गरेका हुन् ।
आफू २०४६ सालदेखि पटकपटक राजावादी भएको स्मरण गराउँदै उनले कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा पुग्दा होस् या माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैको सकारात्मक विचारप्रति समर्थन जनाएको बताए ।
‘२०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहॉ उल्लेख नगरौं! मेरो राजाबादी यात्रा ठोस रूपमा २०४६ पछि सुरू भएको हो ! मुलुकमा प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जागेर आयो , कुन बिचार र दललाइ अंगालौ भनेर अध्यन गरियो र अन्त्यमा अहिलेका चर्चित शेर बहादुर “राजा”को पार्टी रोजियो, यस क्रममा गॉउ सचिब हुँदै, नेबिसंघ काठमाण्डू जिल्ला सदस्य समेत भइयो, करिब एक दशक शेर बहादुर राजाकै पछि लागेपछि मेरो यात्रा राजनीति बाट कलाकारीता तर्फ मोडियो र सम्पूर्ण राजनीतिक क्रियाकलाप लाइ पूर्ण बिराम दिइयो ! कुनै पनि राजनीतिक गतिविधिमा लागिएन!’ उनले लेखेका छन्, ‘त्यसपछि २०६२ /६३ आयो , त्यतिबेला मूलकनै संकटमा परेको आभास भयो र प्रचन्ड राजाको क्रान्तिकारी तेज बाट प्रभाबित भइयो र उनी लगायतका नेताहरूको आव्हान लाइ साथ दिइयो र तत्कालीन राजसत्ता बिरूद्द लेखियो, बोलियो, हिडिँयो पनि !!त्यति बेला फेरी एकपल्ट राजाबादी भइयो! त्यसपछि पालो आयो केपि राजाको, उहॉको तार्किक शक्ति र शैलीको फ्यान परियो! धेरै ठॉउमा उहॉको तारिफ गरियो, चुच्चे नक्साको सबालमा त उहॉको समर्थन गरेर पटक पटक राजाबादी भइयो!’
तर, नयाँ विचार, नयाँ मान्छे आउनेबित्तिकै अहिले गणतन्त्रलाई पखाला चल्न थाल्ने पनि उनको टिप्पणी छ ।
‘पछिल्लोसमय बालेन आए, निर्बाचनमा उनलाई पनि समर्थन नै गरियो ! पछि रबि आए ! उनलाइ पनि समर्थन गरियो नै ! तर नयाँ बिचार, नयॉ मान्छे आउने बित्तिकै यहॉ गणतन्त्रलाइ पखाला चल्न थाल्छ, प्रजातन्त्र नै खतरामा पर्छ !’ उनले भने, ‘यहॉ शासन ब्यबस्था संचालन गर्ने शैली राम्रो भएन भन्यो कि त्यो मान्छे गणतन्त्र बिरोधी हुन्छ कि त राजाबादी हुन्छ ! तपाइहरूको अस्वस्थ प्रतिस्पर्धा ले नै हो जनतामा नैराश्यता आएको ! यहॉ पूराना राजाको डिमाण्ड बढाको तपाईंहरूकै शैलीले गर्दा हो !’
वर्तमान सत्ताको नेतृत्व गर्नेहरुलाई सच्चिन आग्रह गर्दै उनले व्यंग्य कसेका छन्, ‘तपाईंहरूले नै राम्रोसंग राजकाज चलाउनुस ! तपाईंहरूलाई नै राजा मानिरहेकै छू र मानिरहन पॉउ र सधैं राजावादी भैरहन पॉउ!’
‘राजावादी’को ट्याग लगाइदिने प्रबुद्ध नागरिकहरूको अन्तरक्रियात्मक भेलाको बारेमा पनि उनले प्रष्ट्याएका छन् । ‘आन्दोलनको ठिक एक दिन अघि एउटा कल आयो ,एउटा बौद्दिक भेला हुँदैछ जस्ले हाल देखिएको राजनीति धुर्वीकरणको बारेमा छलफल गर्नेछ, तपाईंको बिचार के छ राख्नु होला भनियो! त्यहॉ गएपछि आफ्नो स्वभाव बमोजिम सधैं झै स्पष्ट रूपमा सकारात्मक बिचार राखियो ! हाल समस्या त रहेको तर देश प्रचार गरे जस्तो पनि नबिग्रिएको, बिचार पोखियो ,चिया खाइयो अनि आइयो !’ उनले भनेका छन्,‘भोलीपल्ट बिहानै आफू फेरी एकपल्ट राजाबादी भैसकिएको आफूलाइ पत्तै भएन! ’































प्रतिक्रिया