रवि लामिछानेको ‘हतारो’बारे रास्वपा प्रवक्ता मनिष झालाई तीन प्रश्न

रवि लामिछानेको ‘हतारो’बारे रास्वपा प्रवक्ता मनिष झालाई तीन प्रश्न

केन्द्रबिन्दु
606
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमवार पार्टीको केन्द्रिय समितिको बैठकमा सहभागी भई साढे ५ महिनापछि राजनीतिमा सक्रिय भएकाे जनाउ दिए । त्यसकै भाेलीपल्ट मंगलबार लामिछाने हिउँदे अधिवेशनको अन्तिम दिन सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको सभाकक्षमा पुगी लामिछानेले निलम्बित सांसद पद फुकुवाको माग गरे । सांसदहरुको दलबलसहित पुगेका उनको सभामुखसँग दोस्रो पटकको आग्रह हो ।

लामिछाने सक्रिय राजनीतिमा आएपछि उनका समर्थक उत्साही देखिन्छन् भने कतिपयले राजनीतिमा सक्रिय हुन हतार गरेको टिप्पणी गरिरहेका छन् । के उनले सक्रिय राजनीतिमा आउन हतार गरेकै हुन् त ? भनेर रास्वपाका प्रवक्ता मनिष झासँग हामीले कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-

रवि लामिछाने सक्रिय राजनीतिमा आएपछि कतिपयले हतार गरेको टिप्पणी गरिरहेका छन्, यसमा रास्वपाको धारणा के छ ?

–उपयुक्त समय कहिले हुन्थ्यो त्यसो भए ? त्यो पनि त निश्चितता छैन नि । जब कुनै कुराको निश्चित समय हुन्छ अनि त्यसको उपयुक्त समय यो हो भनेर भनिन्छ । अनिश्चिततामा कति कुरेर बस्ने ? अनिश्चिततामा कुरेर बस्नुलाई त राजनीतिक सुझबुझ भनिँदैन फेरि । त्यसमा पनि कि त ८४ सम्म कुरेर बस्नुपर्यो कि त अर्काे चुनावसम्म कुरेर बस्नुपर्यो ।

अहिलेको गठबन्धन सरकारले रास्वपाप्रति जुन रवैया सदनमा सडकमा राजनीतिक रुपमा जसरी देखाइरहनुभएको छ, त्यसले रास्वपालगायत अन्य राजनीतिक दलहरु र सामान्य नागरिकलाई सुखद् संकेत दिइराखेको छैन । केहि दिनपछि उहाँहरुको प्रतिशोध सकिएला, उहाँहरुको रवैया फेरिएला । उहाँहरुको मन फेरिएला भन्ने त निश्चितता केहि पनि छैन । यत्तिकै बस्दाखेरी पनि सबै ठीक भइराखेको भन्ने पनि छैन । त्यसैले हतारो होइन, एकदम उपयुक्त समयमा आउनुभएको हो उहाँ ।

किनभने ८४ दिनसम्म थुनामा बसेर सघाउनुभयो । अरु नेता सानो तिनो व्यपारी ठुलो व्यापारी दुई दिन पनि हिरासत बस्न सक्दैनन् । विभिन्न बहानामा गएर अस्पताल बसिहाल्छन् । अस्पतालमा गएर हिरासतको समय काट्छन् । सभापतिज्युले त यस्तो गर्नुभएन । जबकी उहाँलाई डाक्टरहरुले पटक–पटक सोधेका पनि थिए, मेडिकल व्यवसायीहरुले गएर पनि सोधेका थिए । मलाई पनि भनेका थिए । यदि उहाँ अस्पताल बस्न चाहनुहुन्छ भने हामी मिलाउछौँ । प्रहरीले पनि सोधेको थियो तपाईं अस्पताल बस्न चाहनुहुन्छ भने प्रक्रिया मिलाउँछौँ । तर, उहाँ त्यही‌ं बस्नुभयो र कानुनी प्रक्रियालाई सघाउनुभयो र सम्मान गर्नुभयो ।

त्यसपछि धरौटीमा रिहा भएपछि पनि उहाँ सक्रिय राजनीतिमा आइहाल्नुभएको होइन । त्यसपश्चात पनि लगभग ८० दिननै कुर्नुभयो । सबै जिल्लाबाट धरौटीमा रिहा भएपछि पर्सामा मुद्धा नै लाइदिएनन् । झुण्ड्याएर राखिदियो । अब तपाईंले मेरो परीक्षा नै लिनुहुन्न म पास हुन्छु कि फेल हुन्छु कसरी थाहा हुन्छ ?

हिउँदे अधिवेशनको अन्तिम दिनमा सभामुख घिमिरेको सभाकक्षमा गएर किन सांसद पद फुकुवाको माग गर्नुभयो ?

-हिजो उहाँ संगठनमा फर्किनुभयो, अब सदनमा फर्किनका लागि माग राख्नुभएको हो। हामीले सभामुखज्युलाई तपाईंले यहीं यसलाई समाधान गर्नुहुन्छ कि हामी अदालती प्रक्रिया जाने भनेर भनेका छौं । जसलाई पनि मुद्धा लगाएर अदालत प्रवेश गराएर सांसद पद खोसदियो जस्तो देखियो । किनभने अदालतले त दोषी करार गरेको छैन । मुद्धा लागिराखेका व्यक्तिहरु टेक बहादुर गरुङ र लक्ष्मी कोइरी छन्, अरु छन् । उनीहरुको त अदालतमा मुद्धा लागिराखेकै अवस्थामा अदालतले निर्णय नदिँदा सदनभित्र गइराखेका छन् ।

नेपाली राजनीतिलाई ति पात्रहरु कत्तिको आवश्यक छ, उहाँहरुको सदनको प्रस्तुतिहरुले नै थाहा हुन्छ । तर नेपाली राजनीतिलाई रवि लामिछाने कति आवश्यक छ भन्ने कुरा उहाँको समर्थक र शुभेच्छुकहरु हेर्दा नै थाहा हुन्छ । त्यसैले गर्दाखेरी सदनले यो कुरा बुझ्नुपर्छ । को व्यक्ति आवश्यक छ, उसलाई निषेधको राजनीति गर्नु कत्तिको उपयुक्त हो भनेर ।

निलम्बित सांसद पद फुकुवा गरी पाउँ भन्दै सभामुखसमक्ष दुई पटक माग गरिसक्नुभयो । अब तेस्रो पटक अदालत जानुहुन्छ ?

-हामी अदालन जाँदै नजाने होइन । तर त्यो भन्दा अगाडि केहि व्यवहारीक कदम पनि हुन्छ, कि सभामुखज्युलाई दुईपटक अनुरोध गर्यौं कि गरेनौँ । भोलि अदालत जाँदै गर्दा मलाई त सोध्नु नै भएन वा अदालतले तपाईंहरुले सभामुख ज्युलाई अनुरोध नै गर्नुभएन । उहाँले यसलाई छिनोफानो गर्नुहुन्थ्यो कि ? भनेर भन्ने पनि ठाउँ हुनसक्छ नी । त्यसैले भोली त्यो ठाउँ नरहोस् भन्नका लागि विभिन्न राजनीतिक दलहरुलाई, सभामुख ज्युलाई सबैलाई हामीले अनुरोध गरिराख्या छौँ । तपाईंहरुले पहल गर्नुस् है भोली हामीहरुलाई सम्झेनौ भन्ने स्थिति नरहोस् भनेर । तेस्रोपटक सभामुखलाई आग्रह गर्नुभन्दा अदालती प्रक्रिया जाने सम्भावना छ ।

संसद छिर्न किन हतारिँदैछन् रवि लामिछाने ?

Skip This
Skip This
Logo