काठमाडौँ
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपति तथा उपराष्ट्रपति जस्ता उच्च लोकतान्त्रिक धरोहरका संस्थामाथि कहीँ कतैबाट आँच आउने र अपमान हुने कार्य गर्न नहुने बताउनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा राष्ट्रपति तथा उपराष्ट्रपति पद उच्च सम्मानित पद हुन्, ती पद माथि आँच आउने र अपमान हुने कार्य नगर्न म सबैमा आग्रह गर्दछु ।”
मन्त्री बाँस्कोटाले राष्ट्रपति तथा उपराष्ट्रपति र त्यसको कार्यालय माथि पछिल्लो समय आएका टीका टिप्पणीमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै “राष्ट्रपति तथा उपराष्ट्रपतिले सरकारलाई यो सुविधा अथवा त्यो सुविधा चाहियो भनेर कहिल्यै केही भन्नु भएको छैन”, भन्नुभयो ।
सरकारले ती उच्चपदको उच्च गरिमालाई बुझेर नै काम गरेको उल्लेख गर्दै अघिल्लो सरकारले नै राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका भौतिक संरचना लगायतका सेवासुविधाका बारेमा निर्णय लिएको जानकारी दिनुभयो । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बाँस्कोटाले एउटै गाडीका लागि १८ करोड खर्च नभएको र नहुने पनि बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “गणतन्त्रका उच्च धरोहर राष्ट्रपति तथा उपराष्ट्रपतिलाई साइकल चढ्नुहोस् भन्न सक्छौँ ?”
प्रवक्ता बाँस्कोटाले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा स्थानान्तरण गर्न विसं २०७१ मङ्सिरमा नै निर्णय भइसकेको जानकारी दिँदै समाज कल्याण परिषद भवन रहेको जमीनको स्वामित्व अर्थमन्त्रालयसित रहेको छ भन्नुभयो ।
“आफ्नो स्वामित्वमा रहेको जमीनको उपयोग कसरी गर्ने त्यो त सरकारको अधिकार क्षेत्रभित्र पर्ने बिषय हो, यसमा कुनै विवाद झिक्न आवश्यक छैन”, उहाँले भन्नुभयो । मन्त्री बाँस्कोटाले सङ्घीय संसद भवन बनाउन नक्साङ्कन भइसकेको पनि जानकारी दिनुभयो ।
रासस





























प्रतिक्रिया