काठमाडौं । नेपालमा फस्टाउँदै गएको व्यवसायको रूपमा हेरिएको मदिरा उद्योग पनि संकटको अवस्थाबाट गुज्रिरहेको पाइएको छ । विदेशी रक्सीको बढ्दो आयात र स्वदेशी उत्पादित रक्सीको माग घट्दो क्रममा रहँदा नेपाली मदिरा उद्योगहरू बन्द हुने अवस्था सिर्जना भएको हो ।
आर्थिक संकटको चपेटा भोगिरहेकाे नेपाली मदिराको बिक्रीमा कमी आएसँगै व्यवसायीलाई बैंकको साँवा ब्याजले पिरोल्न थालेको बुझिएको छ । नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष साेनाम शेर्पाले धेरै स्वदेशी रक्सी कम्पनी र उद्योग बन्दको अवस्थामा पुगेको जानकारी दिए ।
‘नेपालका धेरै मदिरा कम्पनी र फ्याक्ट्री अहिलेकाे अवस्थामा समस्याबाट चलिरहेका छन्, नाम चलेका केही कम्पनी बन्द भइसकेको छ, अबको एक वर्षभित्रमा ७/८ वटा रक्सी फ्याक्ट्री, ४/५ वटा वाइन फ्याक्ट्री बन्द हुने निश्चित छ, ती फ्याक्ट्री, कम्पनी छन्, तर सामान उत्पादन छैन,’ उनले भने ।
फ्याक्ट्रीले सामान उत्पादन नगरेपछि उक्त कम्पनी बन्द सो सरह रहेको उनको धारणा छ । नेपालमा अहिले करिव ६५ वटा रक्सी उद्योग सञ्चालनमा छन् । जसमध्ये २०/२५ वटा धराशायी अवस्थामा पुगेको र केही उद्योग औपचारिक रूपमा बन्द भएको घोषणा गर्न मात्र बाँकी रहेको शेर्पाले जानकारी दिए ।
उद्योग विभागमा उद्योग सञ्चालन हुनको लागि दर्ता गर्नुपर्ने, तर बन्द भएपछि जानकारी गराउन अनिवार्य नरहेकाले बन्द कति भए भनेर आधिकारिक तथ्यांक नरहेको विभागका सूचना अधिकारी अर्जुन सेन ओलीले बताए । अध्यक्ष शेर्पाका अनुसार निश्चित स्वदेशी रक्सी ब्रान्ड मात्र राम्रो तरिकाले चलेको र अधिकांश कम्पनीले समस्या झेलिरहेका छन् । ओल्ड दरबार रक्सी उत्पादन गर्ने कम्पनी, टुबोर्ग र गोर्खा बियर उत्पादन कम्पनी अहिलेको अवस्थामा स्थिर तरिकाले सञ्चालन भइरहेको बताइएको छ ।
मदिर व्यवसाय खुम्चिँदा व्यवसायीलाई बैंकको व्याज तिर्नसमेत सकस भएको शेर्पाले बताए । ‘नेपालमा स्वदेशीभन्दा विदेशी मदिराको बढी प्रयोग हुन थालेको छ, यसले गर्दा ९९ प्रतिशत मदिरा व्यवसाय नेपालमा धरापमा परिसकेको छ,’ उनले भने । बजारमा मदिराको बिक्री न्यून हुँदा यो व्यवसाय धराशायी हुँदै गएको उनको तर्क छ ।
सिग्नेचर, मिशन भोड्का लगायतका रक्सी उत्पादन कम्पनी बन्दको अवस्थामा पुगेको बताइएको छ । एभरेस्ट, टाइगर बियर जस्ता दर्जनौं बियर कम्पनी पनि सकसपूर्ण अवस्थामा चलिरहँदा बन्दको स्थितिमा छन् ।
यस्तै, नेपाल आइस बियर जस्ता निकै नाम कमाएका बियरको समेत बिक्री घट्दा सानो भोलुममा काम गरिरहेका छन् । रक्सीमा निरन्तर भइरहेको अन्तःशुल्क बृद्धि लगायतका यावत् सरकारी नीति नियमको चपेटामा रक्सी उद्योग रहेको शेर्पाले बताए । उनका अनुसार रक्सीको मूल्य अन्य देशको तुलनामा यहाँ बृद्धि भइरहेको छ ।
‘भारतमा नेपालबाट पहिला ठूलो परिणाममा रक्सी निर्यात हुन्थ्यो, अहिले यसको ठिक विपरित भएको छ, मूल्यका हिसाबले पनि भारतमा रेड लेबल, ब्ल्याक लेबल लगायतका रक्सी सस्तो छ, यहाँ झन्डै डबल महँगो छ,’ उनले भने । भारतबाट अवैध रूपमा आएका रक्सी नरोकेको खण्डमा यहाँका ठूला रक्सी उद्योग धराशायीमा पुग्ने शेर्पाको भनाई छ ।
‘पहिला व्यापार थियो, व्यवसायीले लोन लिँदै लगानी बढाउँदै लगे, अहिले व्यापार पनि छैन, लोन तिर्न पनि गाह्रो छ, यस क्षेत्रका व्यवसायी पनि व्यवसाय नहुँदा पलायन हुने अवस्थाको सिर्जना आयो,’ उनले भने । शेर्पाका अनुसार ८० प्रतिशत मदिरा व्यवसायीहरू बैंकको लोन तिर्न सकेका छैनन् । देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान पुर्याउने मदिरा उद्योग पनि हो । तर, यसरी यो क्षेत्र खुम्चिँदै गए १० प्रतिशत योगदान दिन पनि गाह्रो हुने शेर्पाको भनाई छ ।
यस्तै, श्री आशिष इन्टरप्राइजेजका सञ्चालक विमल थापा पनि रक्सी व्यपार धरापमा पर्दै गएको बताउँछन् । उनका अनुसार रक्सी व्यवसाय चुनौतीपूर्ण हुँदै जाँदा धेरै व्यवसायीलाई गाह्रो बनाएको छ । ‘सरकारले यो क्षेत्रलाई त्यतिकै पेलेको छ, बैंकको ब्याज उतिकै चर्को छ, कर्मचारी, घर भाडा महँगो हुँदै गइरहेका छ, गरिरहेको काम भएर छाड्न नमिलेको हो, रक्सी बेचेर साधारण दाल भात खान पनि नपुग्ने अवस्था आयो,’ उनले भने ।
किन आयो मदिरा उद्योग बन्दको अवस्था ?
मदिरा व्यवसाय कानूनी रूपमा अत्यधिक नियन्त्रित र विनियमित क्षेत्र हो । मदिरा सेवनले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने, समाजमा अपराध र असामाजिक व्यवहार बढ्ने लगायतका यावत विषयलाई औँल्याउँदै यसको प्रचारप्रसार गर्न दिइँदैन । यसका विपरीत प्रभावलाई कम गर्नका लागि कडा कानून लागु गरिएको छ ।
साथै, सामाजिक अभियान र जागरूकता कार्यक्रमहरूले मदिराको हानिकारक प्रभावलाई कम गर्न काम गरिरहेका छन् । यो सकारात्मक पक्ष भएता पनि उमेर पुगेको युवा अहिले थोरै भएपनि मदिराको चुस्की लिन रुचाउँछन् । तर, पछिल्लो समय बढ्दो संख्यामा युवा विदेशिँदा त्यसको प्रभाव मदिरा क्षेत्रमा पनि परेको अध्यक्ष शेर्पा बताउँछन् । ‘रक्सी धेरै युवाले खाने हो, युवा विदेशी रहेका छन्, खाने मान्छे नभएपछि उत्पादन गरेर राख्ने मात्र विषय आएन, खपतै नभएर उद्योग नै नचलेपछि बन्दको अवस्था भयो,’ उनले भने ।
मदिरा उत्पादनमा सरकारले वर्षेनी बढाएको करले पनि यसमा समस्या बनाएको शेर्पाको धारणा छ । सामान बिक्री गर्नमा भन्दा नीति नियमले गर्दा काम गर्न गाह्रो भएको शेर्पाले जानकारी दिए । ‘सहजीकरण गर्नुपर्याे भनेर आन्दोलन गर्न जान पनि नमिल्ने, व्यवसायी समस्या पुग्दा मदिरा व्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेका छन्,’ उनले भने ।
यस्तै, सरकारले अहिले स्थानीय अर्थतन्त्र मजबुत बनाउन भन्दै बजेट मार्फत लोकल रक्सी ब्राण्डिङ गरी बिक्री गर्नका लागि आव्हान गरिरहेको छ । त्योसँगै स्थानीय तहले पनि लोकल रक्सीको ब्राण्डिङ र उत्पादनलाई बढावा दिइरहेको छ । यसले पनि मदिरा उत्पादन गर्ने उद्योगमा समस्या बनाएको व्यवसायीहरूको धारणा छ । शेर्पाका अनुसार ३० प्रतिशत मार्केट अहिले लोकल रक्सीले लिएको छ ।
८ महिनामा २ अर्बको मदिरा आयात
नेपाली उत्पादित रक्सीको प्रयोग, उत्पादन र खपतमा केही कमी देखिएता पनि आयातमा भने कमी आएको देखिँदैन । चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिना अर्थात् फागुनसम्ममा २ अर्ब ३६ करोड ९९ लाख ९ हजार रुपैयाँको विभिन्न ब्रान्डका मदिराको आयात भएको छ ।
भन्सार विभागका अनुसार नेपालमा गैरअल्कोहल बियर, व्हिस्की, भोट्का लगायतका मदिरा ब्राजिल, भारत, नेदरल्यान्ड, स्पेन, यूनाइटेड किंगडम आदि जस्ता मुलुकबाट आएका छन् । उक्त मूल्य बराबरको मदिरा आयात हुँदा सरकारले ३ अर्ब १८ करोड ८९ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार ८ महिनामा २१ लाख ४ हजार १ सय १६ लिटर मदिराको आएको हो । नेपालमा मदिरा आयात मात्र नभई सानो परिणाममा भएपनि निर्यात हुँदै आएको छ । विभिन्न अल्कोहल मात्र भएको १६ लाख ६५ हजार ६०६ लिटर रक्सी निर्यात भएको छ । विभागका अनुसार २६ करोड १२ लाख २८ हजार रुपैयाँको उक्त मदिरा निर्यात भएको हो ।





























प्रतिक्रिया