काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्गलोरले मुम्बई इन्डियन्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । गएराति भएको खेलमा बेङ्गलोरले मुम्बईलाई उसकै मैदानमा १२ रनले स्तब्ध पारेको हो ।
२२२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २०९ रनमै समेटियो । सुरुवात राम्रो हुन नसकेको मुम्बईका लागि कप्तान हार्दिक पाण्डे र तिलक वर्माले विस्फोटक ब्याटिङ गरे, तर पनि जिताउन भने सकेनन् । वर्माले २९ बलमा ५६ रन जोडे भने पाण्डेले १५ बलमा ४२ रन जोडे । सूर्यकुमार यादवले २८ रन, विल ज्याक्सले २२ रन तथा रोहित शर्मा र र्यानले समान १७ रन जोडे ।
बलिङमा क्रुनाल पाण्डेले सर्वाधिक ४ विकेट हात पारे। भुवनेश्वर कुमार र जोस हजेलउडले समान दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको बेङ्गलोरले २० ओभरमा ५ विकेटको क्षतिमा २२१ रन जोडेको थियो। बेङ्गलोरका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतकीय पारी खेले । विराट कोहलीले ४२ बलमा ६७ रन जोड्दा कप्तान रजत पाटीदरले ३२ बलमा ६४ रन बनाए। यसैगरी जितेश शर्माले अविजित रहँदै १९ बलमा ४० रन जोडे भने देव दत्त पाणीकलले २२ बलमा ३७ रन जोडे।
बलिङमा मुम्बईका लागि हार्दिक पाण्डेले दुई विकेट लिए।
यो जितसँगै बेङ्गलोर ४ खेलमा तेस्रो जितसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने यता पाँच खेलमा चौथो पराजयको सामना गरेको मुम्बई आठौँ स्थानमा छ।































प्रतिक्रिया