जस्ता पाताले बारिएको टहराभित्र पनि ससाना दुईवटा कोठा छन् । एउटा कोठाभित्र तीनवटा खाट र अर्काेभित्र एउटा खाट र एउटा कुनामा यत्रतत्र छरिएका भाँडा र अगेना छ । सँगै दुई भैँसी, दुई पाडापाडी र चार बाख्रा बाँधिएको गोठ देख्न सकिन्छ ।
यो मण्डनदेउपुर नगरपालिका–२ स्थित लुवा गाउँका ६० वर्षीय आइते तामाङको घर हो । भूकम्प गएको चार वर्ष बितिसक्न लाग्दा पनि अझै आइतेको परिवारले पक्की घर बनाउन सकेको छैन । उनी भन्छन, “घर बनाउन त सोचेको तर आर्थिक स्रोत बलियो नभएर नै बनाउन सकेको छैन । अस्थायी टहरामै चार वर्ष बित्न लाग्यो ।” सरकारले भूकम्प पीडितका लागि दिएको पहिलो किस्ताबापतको रु ५० हजार रकम लिए पनि घरखर्च चलाउँदैमा सकिएको उनले बताए । घर बनाउन शुरु गर्न नसकेकाले दोस्रो किस्ता लिन नसकेको उनको भनाइ छ ।
विसं २०७२ वैशाख १२ को पहिलो भूकम्पले नै आइतेको घर ढालिदिएपछि उनको पाँच जनाको परिवार अस्थायी टहरामा बसोवास गर्दै आएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पटक/पटक घर निर्माणका लागि म्याद थपिसक्दा पनि उनले घर बनाउन शुरु गर्न सकेका छैन । कृषि मजदूरीबाट गुजारा चलाउँदै आएको उनी ग घर बनाउन आवश्यक रकमको अभावले टहरामै दुःखसाथ बस्दै आएको छ । उनको परिवार ज्याला मजदूरीबाटै चल्दै आएको छ । त्यसमाथि उक्त क्षेत्रमा बढ्दै गएको बँदेलको अतिक्रमणले आइतेले उत्पादन गर्नु भएको कुनै पनि अन्न भित्र्याउन नपाउँदै सखाप पारिदिन्छ ।
आइते जस्तै रोहिणीका हरि ढकालले पनि अहिलेसम्म घर बनाउने काम शुरु गर्नुभएको छैन । जङ्गली जनावरको अतिक्रमणका कारण आफू घर बनाउने कि नबनाउने भन्ने अन्योलमा रहेको उनी बताउछन् । “यही क्षेत्रमा घर बनाउँ भने बँदेलले केही उत्पादन हुन दिँदैन, अन्यत्र बनाउँ आफूसँग बलियो आयस्रोत छैन”, ढकालले भने । खेती र पशुपालनको आयस्ताले दुई छोराछोरी पढाउन र घर खर्च चलाउन ढकाल परिवारलाई धौधौ हुने गरेको छ ।
काठमाडौँ, भक्तपुर र सिन्धुपाल्चोक नगरपालिकाको सिमानामा पर्ने यस नगरपालिका जिल्लाका अन्य पाँच नगरपालिकाभन्दा भौगोलिक रुपमा पछाडि छ । यस नगरपालिकाको २ नं वडाले काठमाडौँ र भक्तपुर नगरलाई छोएको छ । यस नगरका स्थानीयवासीको प्रमुख उत्पादन भनेको दूध हो । वडामा सबैभन्दा धेरै गुरुङ र तामाङ समुदायका मानिसको बसोवास पाइन्छ । प्रशस्त चरण क्षेत्र र घाँसको उपलब्धताका कारण बँदेलले दुःख दिए पनि यस क्षेत्रका मानिसका लागि यही क्षेत्र उपयुक्त भएको वडाध्यक्ष केशवप्रसाद तिमल्सिनाले जानकारी दिए ।
“बँदेल पीडितलाई अन्यत्रै स्थानान्तरण गर्ने कि यहीँ राख्ने भन्ने विषयमा वडामा छलफल चलिरहेको छ”, उनले भने, “नगरका अन्य वडामा भन्दा यस वडामा बँदेल पीडितको सङ्ख्या उच्च भएका कारण बस्ती स्थानान्तरणमा केही समस्या हुनसक्ने उनले बताए ।” वडामा ४५० भन्दा बढी घरधुरी बँदेलपीडित रहेको उनले जानकारी दिए ।
हाल नगरमा पहिलो किस्ता लिने भूकम्प पीडितमध्ये ६० देखि ७० प्रतिशतले घर बनाइसकेको नगर प्रमुख टोकबहादुर वाइवाले जानकारी दिए । “पुनःनिर्माण प्राधिकरणमा कर्मचारीको सरुवा हुँदा नगरले तत्काल बँदेल पीडितका लागि के गर्ने भन्ने निचोड निकाल्न सकेको छैन”, वाइवाले भन्नुभयो,” बँदेल पीडितका लागि नगरले केही न केही व्यवस्था गरेरै छाड्ने उनको प्रतिबद्वता छ ।





























प्रतिक्रिया