जग्गाको विषयमा दाजुभाइबीच झगडा, बन्दुक निकालेर चलाउन खोजेपछि वीरेन्द्र पक्राउ

जग्गाको विषयमा दाजुभाइबीच झगडा, बन्दुक निकालेर चलाउन खोजेपछि वीरेन्द्र पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वीरगंजको पर्सामा जग्गाको विषयमा भएको झगडाका क्रममा आफ्नै भाइमाथि बन्दुक ताकेर चलाउन खोज्ने दाइ पक्राउ परेका छन् । दाइलाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । जग्गाको विषयमा दाजुभाइबीच झगडा हुँदा बन्दुक निकालेर चलाउन खोजेपछि दाइ पक्राउ परेका हुन् ।

बन्दुक चलाउन खोजेको आरोपमा प्रहरीले सखुवा प्रसौनी गाउँपालिका ६ एकडर्वा बस्ने ६० वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो । पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार बुधबार गाउँमा जग्गाको विषयमा वीरेन्द्र र उनका भाइ ५५ वर्षीय सिकेन्द्र यादवबीच झगडा भएको थियो ।

झगडाका क्रममा दाजु वीरेन्द्रले आफूसँग भएको कटुवा पेस्तोल निकालेर चलाउन खोजेका थिए । वीरेन्द्रले बन्दुक प्रहार गर्न खोज्न लाग्दा घटनास्थलमा पुगेको प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

वीरेन्द्रको साथबाट एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली बरामद भएको पर्सा प्रहरी नायब उपरीक्षक लम्सालले बताए । प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो । यस्तै उनको साथबाट प्रहरीले ना २३ प ४८७७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

बन्दुक र गोलीसहित पक्राउ परेका वीरेन्द्रलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको र उनीविरुद्ध हातहतियार तथा खरखजाना कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक लम्सालले जानकारी दिए ।

Logo