काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवाहरुलाई स्वदेशमै मर्यादित र उच्च ज्यालासहितको रोजगारी सिर्जना गर्न अर्थतन्त्रमा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन् ।
महासंघको ५९औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष ढकालले अहिले व्याप्त निराशा युवाहरुका लागि पर्याप्त रोजगारीका अवसरहरु सिर्जना गर्न नसक्दाको परिणाम भएको स्मरण गराउँदै यस्तो आग्रह गरेका हुन् ।
‘जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनौ, निराशालाई आशामा बदल्न सकिदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो ।’ उनले भने, ‘हामीलाई थाहा छ रोजगारी प्रदान गर्न सरकारको सिमितता छ । अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ । निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ । तर हरेक बर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन ।’
अध्यक्ष ढकालले महासंघको दुई वर्षे कार्यकालमा विभिन्न चुनौतीहरुको सामना गर्दै सुधारका प्रयास जारी राखेको जानकारी दिए । दुई वर्षअघि नेपाल श्रीलंका जस्तै आर्थिक संकटमा पर्न सक्ने चर्चा चले पनि नेपालको आर्थिक आधारभूत पक्ष बलियो रहेकाले त्यस्तो अवस्था नआउने विश्वास व्यक्त गरिएको उनले स्मरण गराए । तर, त्यतिबेला बजारको माग नियन्त्रण गर्न लिइएका नीतिगत निर्णयहरुले बजारलाई अझै चलायमान हुन नदिएको उनको भनाइ थियो।
पछिल्लो त्रैमासमा ५ प्रतिशतको आर्थिक वृद्धि सकारात्मक भए पनि उद्यमी व्यवसायीको मनोबल अझै बढ्न नसकेको महासंघले गरेको सर्वेक्षणले देखाएको पनि अध्यक्ष ढकालले जानकारी दिए । उनले व्यक्तिगत रुपमा आफू सधैँ आशावादी रहेको बताउँदै युवाहरुको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त नभएको उल्लेख गरे ।
नेपालको आर्थिक विकासको तुलना गर्दै अध्यक्ष ढकालले सन् १९६० ताका नेपाल र दक्षिण कोरियाको प्रतिव्यक्ति आय लगभग उस्तै भए पनि अहिले कोरिया धेरै अगाडि बढिसकेको उदाहरण दिए । भूमण्डलीकरणले स्तरीय जीवनयापन र क्षमता अनुसारको काम पाउने अवसर विश्वभर खुले पनि नेपालले आफ्नो अर्थतन्त्रलाई ठूलो बनाउन नसकेको उनको विश्लेषण थियो। बंगलादेशको प्रतिव्यक्ति आय नेपालको भन्दा दोब्बर र निर्यात ४० अर्ब डलरभन्दा माथि पुगिसकेको अवस्थामा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन आम्दानीकै कारण पछि परेको उनले उल्लेख गरे ।































प्रतिक्रिया