काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलोग्राम विदेशी गाँजासहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ५ किलो २०० ग्राम गाँजासहित दुई थाई युवती र एक जना भारतीय नागरिक पक्राउ गरेको हो ।
विमानस्थलमा अवतरण गरेको थाई एयरलाइन्सको उडान नम्बर टिजी ३१९ विमानबाट उक्त गाँजा भित्रिएको थियो । उक्त जहाजमा सवार २७ वर्षिया थाई नागरिक क्यानोक्वान पोङसुवानसँग उक्त गाँजा भेटिएको हो ।
विमानस्थलको आगमन तर्फको रेड च्यानल क्षेत्रको एक्स-रे मेसिन नजिक पुग्दा त्यहाँ खटिएको ब्युरोको टोलीले पोङसुवानमाथि शङ्का गरेको थियो । पछि चेकजाँच गर्दा उनीसँग उक्त गाँजा भेटिएको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
त्यसपश्चात थप अनुसन्धानका क्रममा उनीसँग थप दुई जना पनि गाँजा तस्करीमा रहेको खुलेको थियो । जसमा २४ वर्षिया अर्की थाई युवती चोन्लाडा निन्चट्टुरट र ३१ वर्षीय भारतीय नागरिक जमशेद मलिक कुप्पाटिललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानकै क्रममा मुख्य कारोबारी थाइल्यान्डमै रहेको र त्यहाँबाट थाई महिलामार्फत गाँजा नेपाल ‘ट्रान्जिट’ बनाई भारतीय नागरिकमार्फत भारतका विभिन्न सहरमा पुर्याउने गरेको थप खुलेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया