काठमाडौं । युवा नेता तथा नेपालको सार्वजनिक शिक्षा सुधारमा निरन्तर कलम चलाउँदै आएका मिलन पाण्डेले उच्च शिक्षा र रोजगारीको खोजीमा विदेशिने युवाहरुको बढ्दो संख्याप्रति चिन्ता व्यक्त गरेका छन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले काठमाडौंमा आयोजना गरेको एडुक्लेभ ३.० कार्यक्रममा पाण्डेले देशमै केही गर्ने अठोट लिएर स्वदेश फर्केका युवाहरुलाई समेत राज्यले उचित व्यवस्थापन गर्न नसकेको बताएका हुन् ।
उनले अहिलेको युवा पुस्ता अध्ययनका अनेक विकल्प हुँदाहुँदै पनि सामाजिक सञ्जाल र क्षणिक मनोरञ्जनमा रुमल्लिएको टिप्पणी गरे । “आजको पुस्ता करियरप्रति गम्भीर हुनुभन्दा बजारमा जे चलिरहेको छ, सोसल मिडियामा जे भाइरल भैरहेको छ त्यसमै रमाउने गरेको देखिन्छ,” पाण्डेले भने।
विद्यार्थीहरुसँगको आफ्नो अनुभव सुनाउँदै पाण्डेले ७०४ जना विद्यार्थीहरुसँग गरिएको अनलाइन र अफलाइन कुराकानीमा ७५ प्रतिशत विद्यार्थी विदेश जाने सोचमा रहेको, १८ प्रतिशत जान पनि सक्छु, नजान पनि सक्छु भन्ने अवस्थामा रहेको र मात्र ७ प्रतिशत विद्यार्थी नेपालमै बस्ने योजना बनाएको तथ्यांक प्रस्तुत गरे।
उत्कृष्ट शिक्षा र रोजगारीको अवसरको खोजीमा विद्यार्थीहरुको पलायन हुनु स्वभाविक भएपनि त्यसलाई रोक्न राज्यले ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिए । पाण्डेले देशमा विद्यार्थी टिकाउनका लागि वर्तमान परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने पनि औंल्याए।































प्रतिक्रिया