काठमाडौं । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ । झापाको भद्रपुरबाट नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि प्रसाईंलाई जहाजमार्फत काठमाडौं ल्याइएको हो ।
गत १५ चैतमा तीनकुनेमा भएको राजवादी आन्दोलनलाई उनै प्रसाईंले हिंसात्मक बनाएको नेपाल प्रहरीको निष्कर्ष छ । सुरक्षामा खटिएका प्रहरीलाई नै गाडीले पेलेर अश्लिल शब्द बोलदै अघि बढेका उनी सोही दिन बेलुकादेखि फरार भएका थिए । प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो । त्यहाँबाट भागेर उनी भारत छिरेका थिए ।
प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई शुक्रबार काठमाडौं ल्याइएको हो ।
यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । आज बिहान झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि स्कर्टिङ गरेको थियो । काठमाडौं ल्याउने क्रममा उनलाई हत्कडी लगाएर चन्द्रगढी विमानस्थल पुर्याइएको थियो र बुद्ध एयरको फ्लाइटबाट उनलाई काठमाडौं ल्याइएको हो ।
हाल प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुटुक्क प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । उनलाई विमानस्थलमा लिन नेपाल प्रहरीका केही गाडी भित्रै गएका थिए । त्यसमध्ये एउटा गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको हो । उनीमाथि आजै म्याद थप्ने बताइएको छ ।
प्रसाईंमाथि विभिन्न मुद्धा चलाउने प्रहरीले तयारी पनि थालेको छ । उनीमाथि ज्यान मार्ने उद्योग, चोरी तथा डकैती, निजी सम्पत्तिको तोडफोड तथा आगजनी, वर्जनिक सम्पत्तिको हानीनोक्सानी, ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण र संगठित अपराध लगिायतका अभियोग लगाउने तयारी गरिएको हो ।
तीनकुनेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमा समेत तोडफोड र आगजनी भएको थियो । यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले राप्रपाका नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायत सय बढीलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । पूर्वराजाको पक्षमा आयोजित प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी थियो । हाल सुवेदीलाई गौरीघाट स्थित घरमै नजरबन्द गरिएको छ । यो घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि उठेकाे छ ।































प्रतिक्रिया