गाजामा इजरायली ‘शत्रुता’ अन्त्य भएपछि बन्धक मुक्त हुनेछन् -हमास

गाजामा इजरायली ‘शत्रुता’ अन्त्य भएपछि बन्धक मुक्त हुनेछन् -हमास

केन्द्रबिन्दु
48
Shares

गाजा । गाजा पट्टीमा इजरायली ‘शत्रुता’ को समाप्तिको सर्तमा इजरायली बन्धकहरूको रिहाई हुने हमासले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ ।

प्यालेष्टिटनी लडाकू समूह हमासले भनेको छ, “समीकरण स्पष्ट छ । शत्रुताको अन्त्यको बदलामा बन्धकहरूको रिहाई हुनेछ । विश्वले यसलाई स्वीकारेको छ, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई अस्वीकार गर्नुभएको छ।”

“नेतन्याहूले द्वन्द्वलाई लम्ब्याइरहनुभएको छ र यसले इजरायली बन्दी र प्यालेस्टिनी नागरिक दुवैको पीडालाई लम्ब्याइरहेको छ ।” विज्ञप्तिमा उल्लेख छ ।

हमाससँग निकट इजिप्टका दुई स्रोतले शुक्रबार इजरायल र इजिप्टका अधिकारीहरूले सम्भावित युद्धविराम र बन्धक मुक्त सम्झौतासम्बन्धी मस्यौदा प्रस्तावहरू आदानप्रदान गरेको बताएका छन्।

स्रोतका अनुसार इजिप्टको प्रस्ताव र अमेरिकी विशेष दूत स्टिभ विटकोफले अघि सारेको छुट्टै योजनाबीचको भिन्नतालाई समाधान गर्न दुवै पक्षले काम गरिरहेका छन् ।

इजिप्टले प्यालेस्टिनी कैदीहरूको रिहाईको बदलामा पाँचदेखि आठ जीवित बन्धकहरू र धेरै शवहरू रिहा गर्ने प्रस्ताव गरेको थियो । साथै, राफा सीमा नाका खोल्ने, गाजामा मानवीय सहायताको प्रवेश गर्ने र गाजाबाट इजरायली सेनालाई क्रमिक रूपमा फिर्ता गर्ने प्रस्ताव इजिप्टले गरेको थियो।

इजरायली पक्षसँगको छलफलमा रिहा गरिएका बन्धक र बन्दीहरूको सङ्ख्या विवादास्पद विषय भएको र इजिप्ट र कतारी मध्यस्थहरूले इजिप्टको प्रस्ताव हमासलाई पठाएको र त्यसले अनुमोदनका साथ जवाफ दिएको स्रोतले बताएको छ।

यसैबीच, इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा पट्टीका अधिकांश भूभागमा इजरायलले चाँडै नै आफ्नो अभियान विस्तार गर्ने बताउँदै भने, “हमासलाई हटाउने, इजरायली बन्धकहरूलाई रिहा गर्ने र युद्ध अन्त्य गर्ने यो अन्तिम क्षण हो ।”

त्यस्तै, इजरायली रक्षा बलले एक विज्ञप्ति जारी गर्दै दक्षिणी गाजाको राफा शहरलाई पूर्ण रूपमा घेरेको घोषणा गर्दै ‘मोराग करिडोर’ को स्थापना पूरा गरेको छ, जुन राफा र खान युनिसलाई छुट्याउने उद्देश्यले गाजा पट्टीको दक्षिणमा एक मार्ग हो।

इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायता प्रवेशमा रोक लगाएको छ । त्यसपछि उसले मार्च १८ मा हमाससँगको दुई महिनाको युद्धविराम अन्त्य गरेको थियो भने यस क्षेत्रमा घातक हवाई र जमीनी आक्रमण पुनः सुरु गरेको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायलले गरेको युद्धविरामपछिको आक्रमणमा हालसम्म एक हजार ५६३ प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य चार हजार चार जना घाइते भएको शनिबार जानकारी दिएका छन् ।

Skip This
Skip This
Logo