काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ । पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ ।
पटक–पटक भाका सारिँदै आएको एकता प्रक्रिया झन् लम्बिँदै गएको छ । एकता प्रक्रियाका लागि कार्यदलले तयारी गरेर खाका सहितको प्रतिवेदन सचिवालयको बैठकमा पेस गरे पनि शीर्ष नेताबीचकै विवादका कारण स्थगित भएको थियो ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरूले नै लगाउन थालेका छन् । पार्टीको सांगठनिक एकताको विषय स्थायी समिति बैठकमा छलफल गराउनु पर्ने माग उठे पनि अध्यक्षद्वयले स्थायी समितिको बैठक नै लम्ब्याउँदै आएका छन् । पार्टीको स्थायी समितिको बैठक तीन महिना यता बस्न सकेको छैन । सचिवालयको बैठक पटक–पटक बसे पनि ठोेस निर्णय लिन सकेको छैन ।
पार्टीको सांगठनिक एकताको प्रक्रियामा जुट्नु पर्ने सचिवालयका नेताहरू नै गुट निर्माण गर्दै आफू कसरी बलियो बन्ने भन्ने गृहकार्यमा छन् । पार्टी एकताको गृहकार्य गर्नुपर्ने अध्यक्षद्वय ओली र प्रचण्ड पनि आ–आफ्नै शैलीमा चल्न थालेका छन् । प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष ओलीले सरकार सञ्चालनको व्यस्तता हुँदा पार्टीको काममा पर्याप्त समय दिन भ्याउनु भएको छैन ।
अध्यक्ष ओलीले आफ्नो समय व्यस्त हुँदा पनि सांगठनिक एकताको जिम्मेवारी अर्को अध्यक्ष प्रचण्डलाई दिने आँट गर्न सक्नु भएको छैन । पार्टी एकीकरणपछि केन्द्रीय सदस्य र प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवबाहेक पार्टीका अन्य कुनै पनि जिल्ला कमिटी, जनवर्गीय संगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । केही जिल्लामा भने शीर्ष नेतृत्वको आशा गर्नु भन्दा स्वःस्फुर्त रूपमा स्थानीय र वडा कमिटीको एकीकरण भएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया