काठमाडौैं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाश शरण महतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लक्षित कटाक्ष गर्दै मौका पाउने वित्तिकै कांग्रेसले अब हाम नफाल्ने बताएका छन् ।
पछिल्लो समय कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गर्दै आएका अध्यक्ष प्रचण्ड विपक्षी दलका नेता भएका कारण वर्तमान सरकार नरहोस् र परिवर्तन होस् भन्ने चाहेको प्रवक्ता महतले बताए ।
आइतवार अध्यक्ष प्रचण्डले कांग्रेसप्रति सद्भाव देखाउँदै नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका थिए ।
केन्द्रविन्दु डट कमसँग टेलिफोन संवाद गर्दै उनले भने, ‘अहिले त्यस्तो केहि छैन । अहिलेको सरकारको विकल्प खोजेको छैन । यसको कांग्रेसको पनि छविको पनि विषय छ । मौका पाउने वित्तिकै हाम फालिहाल्ने हामी गर्दैनौँ । प्रचण्डजी त्यसो भनेकोमा धन्यवाद । यो विषयमा पार्टीभित्र छलफल भएको छैन ।’
वर्तमान सरकारले राम्रो डेलभरी दिन नसक्दा आम जनतामा निराशा छाएकाले नयाँ वर्षमा सरकारले राम्रो डेलभरी दिनुपर्यो भन्ने कांग्रेसको मान्यता रहेका उनको भनाई छ ।
तर, आमसभादेखि सदनसम्म सरकारको आलोचना गर्दै आइरहेका कांग्रेसका कतिपय प्रमुख नेताहरु सरकारले सोचेको जस्तो काम गर्न नसकेको टिप्पणी गरेका गर्छन् । शनिबार मात्रै राजधानीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसइतर समूहका प्रमुख नेता डा.शेखर काइरालले सत्तामा भएपनि सरकारमा नभएको बताएका थिए ।
सरकारप्रति कांग्रेसभित्रै देखिएकाे असन्तुष्टिले के संकेत गर्छ भन्ने प्रश्नमा प्रवक्ता महतले भने, ‘हिजोका दिनमा चुँइक्क बोल्न पाइदैनथ्यो । अहिले जे पनि बोल्न पाएको छ । हुने कुरा पनि नहुने कुरा पनि र मित्थ्या पनि । कुरा अहिलेको व्यवस्थामा बाेल्न पाउने अधिकार छ । अहिलेको सरकारले डेलिभरीमा फोकस गर्नुपर्छ । सरकारको विकल्पबारे कांग्रेसले साचेको छैन ।’





























प्रतिक्रिया