सभामुखले शिक्षकको आन्दोलनबारे गरे शिक्षामन्त्री भट्टराईसँग छलफल

सभामुखले शिक्षकको आन्दोलनबारे गरे शिक्षामन्त्री भट्टराईसँग छलफल

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी तथा समितिको प्रगतिबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग छलफल गरेका छन् ।

भेटमा शिक्षामन्त्री भट्टराईले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको जानकारी दिइन् ।

शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि जोडिएकाले उपप्रधान तथा अर्थमन्त्रीसँग छलफल गरेको पनि उनले जानकारी गराइन् ।

यस्तै, संयोजक विश्वकर्माले उपसमितिले विधेयकका १६३ वटा दफामध्ये अहिलेसम्म ८२ वटा दफामा छलफल गरेर निष्कर्षमा पुर्‍याएको जानकारी दिए । ३५ दिन समय पाएको उपसमितिले तोकिएकै समयावधिभित्र समितिलाई प्रतिवेदन पेश गर्ने उनले बताए ।

सो क्रममा सभामुख घिमिरेले शिक्षकका मागबारे गम्भीर भएर काम गर्न सरकार र समितिको ध्यानाकर्षण गराएका छन् ।

यतिबेला देशभरका शिक्षकले काठमाडौंकेन्द्रित भएर सडक आन्दोलन थालेको आज १४ दिन पुगिसकेको छ । चैत २० गतेबाट सडक आन्दोलन सुरु गरेका उनीहरुले चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेका थिए । दिनानुदिन  शिक्षकहरू आन्दोलनमा थपिँदै छन् । २०७५, २०७८ र २०८० मा भएका सहमति सम्बोधन हुने गरी यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत विभिन्न १८ बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् । उनीहरुले अब वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा पनि बहिष्कार गर्ने भएका छन् ।

Skip This
Skip This
Logo