काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा करिब एक घण्टा लामो भेटवार्ता भएको छ ।
नयाँ वर्षको प्रारम्भसँगै सरकारको सत्ता समिकरणको चर्चा चलेकै बीच प्रधानमन्त्री ओलीसँग सभापति देउवाले गहन छलफल गरेका हुन् । भेटमा दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने समझदारी भएको बताइएको छ । गठबनधनको औचित्य र अवधिलाई लिएर दुई शीर्ष नेताबीच कुनै पनि किसिमको अन्यौल नरहेको बालुवाटार स्रोतले जनाएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले गठबन्धन सरकारका विरुद्ध अभिव्यक्ति दिन थालेपछि संयन्त्र र कार्यदलहरूको बैठक डाकेर छलफल गर्न दुवै नेता तयार भएका छन् ।
ओली नेतृत्व वर्तमान सरकारमा कांग्रेस पनि सहभागी छ । अझ भनौं, कांग्रेसकै बलमा ओली सरकार बनेको हो । सभापति देउवा केहीसमय पछि प्रधानमन्त्री बन्ने पर्खाइमा छन् । तर, यता कांग्रेसका महामन्त्री गगन थापालगायत नेताहरुले भने निरन्तर सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन् ।
आज मात्रै एक कार्यक्रममा महामन्त्री थापाले वर्तमान सरकारले राम्रो पर्फर्मेन्स दिन नसकेको टिप्पणी गरेका छन् । उनले भनेका छन् , ‘एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ, गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ । तर अहिले त्यस्तो देखिएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन् ।’
यता एमाले भने देउवा सहमतिप्रति दृढ रहेकाले तत्काल सरकार र गठबन्धन दायाँबायाँ नहुनेमा विश्वस्त देखिन्छ ।































प्रतिक्रिया