लोकतन्त्रमा गणतन्त्रका मात्रै नारा घन्किए, यो खतरा छ -डा. सुन्दरमणि दीक्षित [भिडियोसहित]

लोकतन्त्रमा गणतन्त्रका मात्रै नारा घन्किए, यो खतरा छ -डा. सुन्दरमणि दीक्षित [भिडियोसहित]


काठमाडौं । नेपाली राजनीतिमा पछिल्लो समय नेपाली कांग्रेस-नेकपा एमालेको गठबन्धन भत्किएर नयाँ सरकार बन्ने भन्ने विषय चर्चामा छ । यस विषयमा ८४ सम्म सरकार टसमस नगर्ने तर्क सत्तापक्षको छ। तर, वर्तमान सरकारकै कार्यशैलीमाथि सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले चर्को आलोचना गर्दा विषय पेचिलो बन्दै गएकाे छ । राजावादी, शिक्षक, डाक्टरलगायत सर्वसाधारण सडकमा छन्। पछिल्लो समयका राजनीतिक घटनाक्रमले तरङ्ग ल्याएको छ। नयाँ गठबन्धनको विषय, व्यवस्थाका विरुद्ध राजावादीहरूले गरिरहेको प्रदर्शनलगायत विभिन्न विषयमा हामीले राजनीतिक विश्लेषक डा. सुन्दरमणि दीक्षितसँग विशेष कुराकानी गरेका छौँ।

अहिले सरकार मुर्दावादको नारा लगाउँदै शिक्षकदेखि डाक्टर र राजावादीदेखि गणतन्त्रवादीहरू सडकमा छन्। यो अवस्था कसरी आयो?

-यो त आउनै नपर्ने स्थिति थियो। हामीले जनयुद्धदेखि जनआन्दोलन गर्यौँ। राजालाई फालेर संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था गर्यौँ। आखिर यही दिन देख्नकै लागि हामीले गरेका थियौँ? हामी पेसाकर्मी मान्छे। हामी आफ्नो पेसामा छौँ। हामीले बहुदलीय प्रजातन्त्र रोज्यौँ। हामीले लोकतन्त्र रोज्यौँ। हामीले त्यसबेला पनि जनआन्दोलन सुरु गर्दाखेरि पनि गणतन्त्र रोजेका थिएनौँ।

सुरुवातदेखि अहिलेसम्म जनताले रोजेको, चाहेको लोकतन्त्र थियो। त्यसकै लागि हामी लड्यौँ। आज आएर हेर्दाखेरि त लोकतन्त्र कता पुग्यो, कता! अब त खाली गणतन्त्र, गणतन्त्रको नारा लाग्यो। यो ठूलो खतराको कुरा भयो। किन त्यस्तो भयो भन्दाखेरि, जुन प्रणाली हामीले लियौँ, त्यो प्रणालीमा चाहिँ नेताहरू भएनन्। असल नेताको खडेरी पर्यो। असल नेता पहिलेका मरेर गए। अहिले जुन नेता आए, यी सबै अवसरवादी, सबै भ्रष्टाचार मनपरी तन्त्र चलाउने खाले नेता आइदिए।

राजावदी आन्दोलन उस्काउने काम सरकारले नै गरेको हाे ।

चुनावमा लाखौं, करोडौँ खर्च गरेर जितेपछि सांसद, मन्त्री लगायतका पद किनबेच भए। त्यो प्रक्रिया निरन्तर चलिरहन्छ। यस्तो हुँदा भ्रष्टाचार मौलायो। हाम्रो संसदीय व्यवस्थालाई नै म अहिले दोषी देख्छु। राम्रो व्यवस्था बेलायत, भारतमा चलेको छ। किन त्यो प्रणालीलाई अंगाल्न सकेनौँ? नेता भएनन्। बहुदलीय प्रजातन्त्रमा नेता, प्रजातन्त्रमा पार्टी नै चाहिन्छ। तर पार्टी भयो कि मुखले मात्र राम्रो हुँदो रहेछ। हाँक्ने ड्राइभर हुनुपर्छ। हाँक्ने ड्राइभर, कुहिएका, बेकम्माका चाहिँ व्यक्तिहरू परेछन्।

हामीले राजा पनि फाल्यौँ। नेतृत्व महसुस गर्ने नेता छानेर हामीले पठायौँ। सुनको थालमा यिनलाई चाहिँ लोकतन्त्र दियौँ। यिनीहरूले लोकतन्त्रलाई बेवास्ता गरेर नारा दिए, खाली गणतन्त्रका। त्यसैले शिक्षक, सहकारी पीडितदेखि सबै सडकमा छन्।

तपाईँले भन्नुभयो, हामीले खोजेको लोकतन्त्र हो तर अहिले सडकमा गणतन्त्रको नारा लागिरहेको छ। खासमा यो लोकतन्त्र र गणतन्त्र बीचको फरक के छ?

-धेरै फरक छ नि। भारतमा लोकतन्त्र छ। संसारमा सबभन्दा ठूलो लोकतन्त्र छ। बेलायत सबभन्दा पुरानो लोकतन्त्र हो, गणतन्त्र छैन। संवैधानिक राजतन्त्र छ। जनताले शासन गर्न पाउने हक अधिकार लोकतन्त्रले दिन्छ। गणतन्त्र फुलझारी हो। गणतन्त्र भन्नु लोकतन्त्रको उपहास गर्नु हो। आज नेपालको राज्य त कम्युनिष्टले चलाइरहेकाे छ । हाम्रो सात सालदेखि त कम्युनिष्टको राज्य थिएन नि। कांग्रेसले राज्य गर्थे, राजाहरूले गरे। मनमोहनको केही समयको टाइममा आठ, नौ महिना चल्यो, त्यति मात्रै हो। तर अहिले पुरा एमाले र माओवादी मिलेर दुई तिहाइको सरकार चलाए। आखिरमा के भयो त? मुलुक खत्तम भयो, होइन?

एमाले कम्युनिष्ट, माओवादी उग्र कम्युनिष्ट अनि सबै कम्युनिष्ट मिलेर संयुक्त जनमोर्चा बनाए। हुँदाहुँदा कांग्रेस पनि कम्युनिष्ट भइदियो। जसलाई हामीले लोकतन्त्रको खम्बा मानेका थियौँ। यिनीमात्रै बाँचे भने लोकतन्त्र बच्ने आश छैन।

हिजोका दिनमा माओवादी–कांग्रेस, एमाले–कांग्रेस भए। यिनीहरूको सिद्धान्त हेर्नुहोस्। बीपीको फ्याँके, गणेशमानको फ्याँके। कांग्रेस सिद्धान्त फ्याँकेर कम्युनिष्ट बनिसक्यो। राज्य पूर्णरुपमा कम्युनिष्टको भयो। नेपाल आज कम्युनिष्टहरुबाट चलिरहेकाे छ। कांग्रेस पनि त्यही ढाँचामा गइसक्यो। कम्युनिष्ट मुलुकमा लोकतन्त्र हुँदैन। त्यहाँ त ‘डिक्टेटरसिप अफ द प्रोलिटरियट’ हुन्छ। लोकतन्त्र कम्युनिष्टमा मिल्दैन। अहिले जो पनि सडकमा उत्रेका छन्, गणतन्त्र बचाउने भनेर। ठूलो खतरा नेपालमा आज लोकतन्त्र मासिने डर भयो। गणतन्त्रवादीहरूको आधार लोकतन्त्र होइन।

गणतन्त्रले जनतालाई के दियो भन्ने प्रश्न उब्जिएको छ। यो प्रश्नमा तपाईंको धारणा के छ?

-नेपालमा २०४६ सालमा लोकतन्त्र आएको थियो, गणतन्त्र थिएन। लोकतन्त्र जुन हामीले ल्यायौं, हाम्रो आधार हो। त्यसले केही दियो। गणतन्त्र त ज्ञानेन्द्रको मूर्खताले अचानक आएको मात्रै हो। जनआन्दोलनको मुद्दा गणतन्त्र थिएन। जनयुद्धको पनि मुद्दा गणतन्त्र थिएन।

गणतन्त्र र गनगने नेताहरू भए। तर हामीले लोकतन्त्र बलियो बनाउन सकेनौँ। लोकतन्त्र बलियो किन भएन भनेदेखि, लोकतन्त्र मास्नै हिँडेका छन्। जनताले लोकतन्त्रका लागि लडे तर नेताहरूले आफ्नो स्वार्थ पूरा गर्नलाई लोकतन्त्र नबुझिने गणतन्त्र स्थापना गरे। जनतालाई धिक्कार्दै गइराखेका छन् कि गणतन्त्र भनेकै लोकतन्त्र हो। गणतन्त्र भनेको लोकतन्त्र होइन। लोकतन्त्रमा गणतन्त्र पनि हुन सक्छ। लोकतन्त्रमा राजतन्त्र पनि हुन सक्छ। हामीले साँच्चै भन्दा एउटा चिप्लेको भिरबाट नेपाल खस्दैछ। भ्रष्टाचार चुलिँदै गएको छ। सुशासन कतै छैन।

सरकार बनाउनका लागि नेताहरु आउने बित्तिकै भन्छन्, जनताका लागि विकास गर्छौं, स्वदेशमा रोजगारीको सिर्जना गरी विदेश पलायन हुन दिँदैनौँ तर यथार्थमा जनताका लागि भन्दा आफ्ना र आफन्तका लागि गर्छन्। अहिले कुनै विद्यार्थीलाई कहाँ पढ्ने भनेर सोध्दा अमेरिका, क्यानडा र अस्ट्रेलिया भन्छन्। नेपालमा उनीहरूलाई विश्वास नै छैन। ओली, देउवा र प्रचण्डले देश बर्बाद पारे। यी तीन टाउकेको भार देशले अब थेग्न सक्दैन। ओली, देउवा र प्रचण्डको कुरा गर्नुभयो। यिनीहरूको राजनीतिक यात्रा कहाँसम्म जान्छ? अहिलेको परिस्थिति हेर्दा?

ओली सिकिस्त भएका थिए, तङ्ग्रिएर आए। प्रचण्ड पनि अहिले मर्निङ वाकमा हिँडिरहनु भएको छ। देउवा जति अल्छी भए पनि झन् फस्टाइरहेका छन्। देउवाको त बोली पनि बुझिँदैन। ८४ पनि यिनकै हातमा हुने, ८८ पनि यिनकै हातमा हुने हो। यिनीहरू रहुन्जेल नेपालको भलो हुँदैन। नेपाल सतिले सरापेको हो भन्थे, अहिले आएर हो रहेछ भन्ने लाग्छ।

चुनावमा लाखौं, करोडौँ खर्च गरेर जितेपछि सांसद, मन्त्री लगायतका पद किनबेच भए। त्यो प्रक्रिया निरन्तर चलिरहन्छ। यस्तो हुँदा भ्रष्टाचार मौलायो।

हामीले हेर्यौं भने साँच्चै के नेपाली अभागी हुन् त ? किनभने यस्तो नेतृत्वले हामी लाचार छौँ र राज्यले केही गर्न सक्दैन। कुलमानमाथि त्यति अन्याय भयो, हामी लाचार। त्यत्रो भ्रष्टाचार भइराखेको छ। कत्रो भूटानी प्रकरणमा नेपालको इज्जत फाल्नुभयो। सहकारीमा त्यत्रो ३५९४० हजार मान्छे ठगिए। दुर्गा प्रसाईंले कुरा उठाउँदा उनीलाई नै थुनेर बसेका छन्। एउटा बच्चा पनि यहाँ पढिरहन मान्दैन। सबैको इच्छा के छ, हामी बाहिर जाने।

तपाईंले दुर्गा प्रसाईंको कुरा निकाल्नुभयो। चैत १५ गतेको तीनकुने घटनापछि उनी अहिले हिरासतमा छन्। अहिलेको व्यवस्थाविरुद्ध राजावादीहरू सडकमा उत्रिएका छन्। कत्तिको सम्भव छ यही व्यवस्थामा रहेर राजसंस्था फर्काउन?

-उनीहरूले कस्तो राजसंस्था चाहेको प्रष्ट पारेनन्। कसैले राजालाई सिंहासनमा तुरुन्तै चढाउँछौँ भन्ने कुरा गरे। कसैले २०४६ सालको जस्तै संवैधानिक राजसंस्था चाहियो भन्छन्। औपचारिक वा कस्तो राजा चाहिएको भनेर स्पष्ट पारेको भए अहिले दुर्गा प्रसाईं, रविन्द्र मिश्र, धवल शमशेरमाथि राजद्रोह, देशद्रोहका मुद्दा लगाउन पाइँदैन थियो। यहाँ त यिनीहरूलाई मुद्दा लगाए। यिनीहरूले गणतन्त्रको विरोध देखाए।

अस्ति राजाको अन्तिम सम्बोधनमा सरकार चलाउने, राज्य गर्ने जनताले नै हो। हामीले होइन। हामी खाली सहयोग गर्न चाहन्छौँ भनेर स्पष्ट पारे। औपचारिकको कुरा गरिदिए। त्यो कुरा राजावादीहरूले कहिल्यै पनि प्रष्ट पारेनन्। लोकतन्त्रमाथि प्रहार भयो भने मात्रै राष्ट्रद्रोह भन्न मिल्छ? लोकतन्त्रमाथि प्रहार नहुन्जेलसम्म त्यो भन्न तपाईं पाउनुहुन्न। गणतन्त्रको नारा, गणतन्त्रलाई खत्तम पार भन्दैमा तपाईं चाहिँ नि उनीहरूलाई देशद्रोहको लाउन मिल्दैन। किनभने उसले लोकतन्त्रको विरोधमा गरेको छैन। लोकतन्त्र भन्नु एउटा हाम्रो सबैको जग हो। जनताको चाहना त्यही हो। गणतन्त्र भनेपछि लोकतन्त्र हुनु र नहुन पनि सक्छ।

प्रसाईं, मिश्र र शमशेरमाथि जुन कसुर लगाइयो त्यो बिल्कुलै गलत हो भनेर भन्नुभयो। तीनकुने घटनाको अवस्था त हेर्नुभयो तपाईंले ?

-देशद्रोह, राष्ट्रद्रोह भन्न मिल्दैन। आन्दोलनमा दंगा फसाद भएको छ। अरु छानबिन गरी मुद्दा लगाउन मिल्छ। देशद्रोहको हत्कडी लगाएको छ। मिश्र जस्तो राष्ट्रवादी व्यक्तिलाई राष्ट्रद्रोही भनेर हतकडी लाउनु कत्तिको जायज छ ? उसको दोष के हो भने प्रष्टै पारेनन्। प्रसाईंलाई मुद्दा लाउनैपर्छ। प्रसाईंले जसरी सुरक्षाकर्मीलाई हुक्याउँदै गाडी चलाए। आन्दोलनलाई उक्साए। मिश्र र शमशेरलाई त भन्न मिल्दैन। उनीहरूको हातमा केही पनि थिएन। सरकारका तर्फबाट टियर ग्यास प्रहार गर्यो। लाठीचार्ज गरेको छ। अहिले बुझ्दा खेरि त कति उक्साहट भएको रहेछ सरकार तर्फबाट देखिन्छ।

सरकारले उक्साएको थिएन भने किन अहिलेसम्म कुनै जाँचबुझ आयोग बनाउन सकेनन् ? निष्पक्ष र न्यायिक जाँच आयोग बनायो भने त्यो त गलत ठहरिन्छ भनेर ओलीजी तर्सिनुभयो। यिनीहरूले लोकतन्त्र मान्दैनन्।

तीनकुने घटनामा भएको क्षति सरकारले लिनुपर्छ राजावादीहरूले भनिरहेका छन्। यस्तै आयोजकहरूले लिनुपर्छ सरकारले भनिरहेको छ तर यिनीहरूका बीच जनता चेपुवामा परे नि।

-आन्दोलनमा जुन प्रकारको गतिविधि भएका छन्, त्यसको जिम्मा बिलकुल राजावादीहरूले लिनुपर्छ। त्यसमा शंका नै छैन। त्यसमा उक्साउने काम सरकारले गरेको छ। हिरासतमा राखेको पनि तीन हप्ता हुन लाग्यो तर अदालत उपस्थित गराएको छैन। मुद्दा लगाएर हिरासतमै राख्ने विचार सरकारको छ। अदालतले प्रमाण माग्छ तर सरकारसँग त्यो छैन।

साँच्चै के नेपाली अभागी हुन् त ? किनभने यस्तो नेतृत्वले हामी लाचार छौँ र राज्यले केही गर्न सक्दैन।

हतकडी लगाएर हामी शक्तिशाली छौँ भनेर देखाउन खोजिएको छ। यिनीहरू खोक्रा भइसके र जनतालाई हामीले गरिरहेका छौँ भनेर देखाउनु छ। त्यसैले यिनीहरूलाई हतकडी लगाए। अहिले सरकारमाथि विश्वास नलागेर राजातिर जनता ढल्केका छन्। १८/१९ वर्षमा यिनले केही पनि गरेनन्।

आफू मोटाए, फस्टाए। आफ्नो परिवारलाई फस्टाए तर जनतालाई विदेश पलायन गरे, पुँजी पनि बाहिर गयो, ऋणमा हामीलाई डुबाए। रेमिट्यान्स यिनले खाए। भ्रष्टाचारमा चुर्लुम्मै डुबे। खोक्रोपनलाई देखाउन प्रसाईं, मिश्रहरूलाई हत्कडी लगाए। राजावादीहरूको आन्दोलनले गणतन्त्रवादीहरूको जग नै हल्लियो। गणतन्त्रवादीहरू अहिले तितरबितर भएर नै होला जग हल्लिएको। यिनीहरू एकमुष्ट भएर प्रतिवाद गर्यो भने के होला?

गणतन्त्र भनेर कसरी एक ठाउँमा आउँछन्। यिनीहरू एक ठाउँमा आउन सक्दैनन्। एक ठाउँमा बस्न सके प्रचण्ड, विप्लव, गजुरेल, मोहन वैद्य, बाबुराम किन अलग हुन्थे। दर्जनौं टुक्राहरूमा विभाजन भए। किनभने एक ठाउँमा बस्न सक्दैनन् यिनीहरू। जनताको जनतासँग पनि एक हुन सक्दैनन्।

कांग्रेस एमालेको सरकार बनेपछि त माओवादी अहिले जनताको घरदैलोमा छ। जनताको माओवादीप्रति उत्साहजनक छ भनेर उहाँले भन्नुभएको छ। जनतासँग प्रचण्ड एक भइरहेका हाेलान्?

-प्रचण्डजीले सपना देख्नुहुन्छ। अहिले जनताको माझ गएर आफ्नो कुरा बताउनुहुन्छ। कहिले लट्ठीले पिट्या पनि छैनन् भन्नुहुन्छ। त्यो सत्य कुरा हो। खुकुरी र बन्दुक बोकेका मान्छेलाई किन लट्ठी चाहियो। प्रचण्डले कहिले के बोल्छन्, कहिले के बोल्छन्। जनताले विश्वास गर्न छोडे। १८/१९ वर्षमा मान्छे कहाँबाट कहाँ पुगे। नेपालमा बोल्ने धेरै भए तर काम गर्ने कोही भएन। भ्रष्टाचारमा च्याम्पियन छन्, जनताको सेवामा शून्य छन्।

अहिले एकातिर गणतन्त्रवादीहरू सडकमा छन्। अर्कोतिर राजावादीहरू सडकमा छन्। जनता सधैँ चेपुवामा पर्छन्। यसको समाधान के देख्नुहुन्छ?

-विकल्प एउटै मात्र छ। यो संसदीय व्यवस्था खारेज। ७ सालदेखि प्रयास गर्यौं। कहिले पंचायतकालले निकाल्यो, कहिले ज्ञानेन्द्रले कू गरे । कहिले सफलता पाइएन। त्यसैले यो व्यवस्था फालेर लोकतन्त्रलाई बलियो गर्ने। लोकतन्त्रलाई बचाएर प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्यो। त्यसमा हर्क साम्पाङ, बालेन शाह, प्रचण्ड, ओली, देउवा जोसुकै पनि आउन सक्छन्। मेरो विचारमा अहिले सबभन्दा राम्रो संसद खारेज हुनु हो। संसदीय व्यवस्था होइन, अब कार्यकारी प्रधानमन्त्री अथवा राष्ट्रपति हुनु पर्‍याे ।

देशव्यापी रुपमा चुनिएर आएको प्रधानमन्त्रीको साथमा विज्ञको टोली हुन्छ तर खुट्टा तान्ने कोही हुँदैनन्। आफ्नो कार्यकालमा पूर्णरुपमा काम गर्न पाउँछन्। कार्यकारी प्रधानमन्त्री हुने बित्तिकै उनले दण्ड दिन सक्छन्। भ्रष्टाचार धेरै हदसम्म बन्द गर्न सक्छन्। अर्को कुरा प्रदेश संरचनालाई खारेज गरेर स्थानीयलाई बलियो बनाउनुपर्छ।

यही व्यवस्थामा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्न सम्भव छैन ?

१०० प्रतिशत सम्भव छ। नेताहरूमा त्यो हिम्मत छ? प्रचण्ड, देउवा र ओलीमा हिम्मत छ? सानो ठाउँबाट जितेर आएर भ्रष्टाचारमा डुब्न पाउँछन्, पावर खेल्न पाउँछन्। देशव्यापी चुनिनको लागि हिम्मत त चाहियो। होला अहिले जनताले रुचाएका बालेन शाह, हर्क साम्पाङ, अनुराधा कोइराला, राजेश हमाल, पारख खड्कालाई हिम्मत छ।

आजका दिनमा प्रत्यक्ष रुपमा निर्वाचन गर्ने व्यवस्था भयो भने पारस खड्का र ओलीबीच चुनाव भयो भने पारसले जित्छ। यस्तो अवस्थामा यिनीहरूमा हिम्मत देख्दिन। प्रचण्डले कति चोटी भने, म इलेक्सनमा जितेर आएँ। म राष्ट्रपतिको कार्यका लागि लड्छु। तर प्रधानमन्त्री पाएपछि किन लड्थे। खान, लाउन, भ्रष्टाचार गर्न पाएपछि किन गर्थे। त्यसैले हिम्मत चाहिन्छ देशव्यापी लड्न।

आज बिपी कोइराला हुनुहुन्थ्यो भने जनताले पत्याउँथे। मनमोहन, पुष्पलाल, मदन भण्डारी भएको भए पूर्णरुपमा जनताले जिताउँथे। यिनीहरुमा हिम्मत होला देशव्यापी रुपमा चुनाव लडेर राष्ट्रपति र प्रधानमन्त्री बन्ने ?

राजनीतिक वृत्तमा नयाँ युवाहरू पनि आए। तपाईंले भने अनुसार हर्क, बालेन, गोपी, रवि आएका छन्। उनीहरूलाई त सरकारले देख्नै सकेन भन्या जस्तो गर्या छन् नि।

-यो त हो। उनीहरूका नेताहरूलाई हराएर आएपछि त कसरी देख्न सक्छन् ? उहाँहरूले जितेर आउने बेला मैले भनेको थिएँ। तिमीहरूलाई खत्तम पार्छ। अहिले यिनीहरूलाई लक्षित बनाएर खत्तम पारे। रवि लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाइदिए। बालेन अधिकृतको विषयमा फसिरहेका छन्। स्वतन्त्र रुपमा आएकाले यिनीहरूले आफ्नो बचाउ गर्नुपर्थ्यो ताकि जनताको सहयोग अझ सशक्त ढङ्गले पाउन सकियोस् भनेर। तर यिनीहरूले गरेनन्।

पछिल्लो समय कांग्रेस–एमालेको गठबन्धन भत्किने विषय बाहिरिएको छ । यो गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

-अहिलेको गठबन्धन ढल्दैन। देउवा र ओली मिलुन्जेलसम्म केही पनि हुँदैन। कांग्रेस र एमाले झन् कसिलो बन्छौं भनिसके। कांग्रेसका महामन्त्री हुन् वा शेखर, जति चिच्याए पनि देउवाको अगाडि यिनीहरूको केही पनि लाग्दैन। सभापति शक्तिशाली भएकाले बाहिर चिच्याए पनि, कराए पनि, बोले पनि केही हुँदैन।

देउवा र ओली अहिले एकदम एक छन्। किनभने देउवालाई कुन बेला मलाई प्रधानमन्त्री देला भन्ने आश छ। ओलीले पनि दिनप्रतिदिन दिन्छु दिन्छु भनिरहेका छन्। आखिर यो दिने वाला पनि छैन, पाउने वाला पनि छैन। प्रधानमन्त्रीका लागि देउवा ढोकेर बसेका छन् तर त्यो फल झर्ने वाला भने छैन।

माओवादी अध्यक्ष प्रचण्डले त कांग्रेससँग मिलेर नयाँ गठबन्धन बन्ने सङ्केत गर्नुभएको छ नि?

-प्रचण्डलाई कसले पत्याउँछ ? प्रचण्डले त्यत्रो जनयुद्धमा त्यति विभिन्न समूहलाई धोका दिएका छन् । आफ्नै सहकर्मी बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव सबै अलग भए। केही गरेनन्। कसले पत्याउँछ प्रचण्डलाई ? प्रचण्डका दिन सिध्दिए । प्रचण्डले जति कराए पनि, ए हाम्रो समर्थन बढ्या छ भने पनि कसैले पत्याउँदैन।

संसदीय व्यवस्था होइन, अब कार्यकारी प्रधानमन्त्री अथवा राष्ट्रपति हुनु पर्‍याे ।

त्यसो भए नयाँ गठबन्धन बन्न असम्भव छ ?

-हिजोका दिन मात्रै दुई वटा दल मिलेर बसेपछि हामी झन् कसिलो बनाउँछौं भनिसके। अब कुरा के भने देउवाको लोभ छ। मलाई यसबाट प्रधानमन्त्री आउँछ भन्ने पक्का छ। प्रचण्डले दिन्छु भन्या छ। ओलीले देउवालाई नै प्रधानमन्त्री पद हस्तान्तरण गर्छु भन्या छ। ओलीले त भाषणै रटेको छ।

ओलीले प्रत्येक दिन बिहान पूजा गर्दा ओम देवाय नमः नभनेको दिन नै छैन। देउवा त्यहाँ ढोकेर बस्नुभएको छ। त्यसैले गठबन्धन असम्भव छ।

तर २०७९ को चुनाव हेर्ने हो भने पाँच पटक सरकार फेरिए। कहिले कांग्रेस–माओवादी, कहिले एमाले–माओवादी र अहिले कांग्रेस–एमाले। घटनाक्रम हेर्दा त गठबन्धन नबन्ला भन्ने आधार त देखिँदैन।

हो, छैन। विगतमा पनि सत्ता र शक्तिका लागि मात्रै सरकार बनाए। जनताका लागि कहिल्यै सरकार बनाएनन्। जनताको लागि जनताका लागि भन्दा पनि आफू र आफ्ना मिलाए। ‘काले काले मिलेर खाउँ भाले’ गरे। अर्को चाहिँ हामी सबैले भ्रष्टाचार गरौं भने। त्यहाँ पनि तै चुप, मै चुप, गुपचुप गुपचुप नै गरे। हामी आपसमा गरौं। जनतालाई थाहा नदिउँ भने। उनीहरूप्रति जनताको विश्वास नै छैन। आफ्ना स्वार्थका लागि गठबन्धन बनाउने र भत्काउने गर्छन्। त्यसैले अहिले प्रचण्डले देउवालाई प्रधानमन्त्री नै दिन्छु र नयाँ सरकार बनाउ भने पनि नयाँ गठबन्धन बन्दैन।

Logo