काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब दुई घन्टा छलफल हुँदा पनि नेपाल शिक्षक महासंघले आन्दोलन जारी राख्ने भएको छ । शुक्रबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितले छलफल गरेका थिए, तर निष्कर्ष निस्किएन ।
भेटमा शिक्षकहरूले अहिलेको आन्दोलन, शिक्षक(कर्मचारीको मागमुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले पनि सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने आश्वासन दिएको अध्यक्ष सुवेदीले जानकारी दिएका थिए ।
तर, आज बिहान अध्यक्ष सुवेदीले समग्र परिस्थितिको मूल्यांकन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था रहेको र आन्दोलन जारी रहने बताएका छन् । साथै उनले सानातिना मागहरुको लेनदेन गरी फर्किन आन्दोलनमा नआएको पनि जानकारी दिएका छन् ।
‘हाम्रो आन्दोलन जारी छ । सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डलामा आउनुहोला ।’ उनले भनेका छन्, ‘हामी एक दुई सानातिना मागहरुको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौं । विगतका सहमति सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो ।’
विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर महासङ्घको आह्वानमा गएको चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए ।
साथै मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बैठकको आह्वान गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सोही बैठकले महासङ्घले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरूलाई आह्वान गरेको थियो ।तर, शिक्षकहरु ऐन जारी भएपछि मात्रै फर्किने मुडमा छन् ।





























प्रतिक्रिया