पोखरा । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उनले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पारेका हुन् । सरकार सहमतिका साथ नै अघि बढीरहेको भन्दै उनले भने, ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ, अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ ।’
पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रि गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे ।
लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यम माथि हुने गरेको हामीले विगतमा भोगिसकेको उल्लेख गरे । अघिल्लो पुस्ताका साथै वर्तमान पुस्ताको अथक प्रयासबाट बर्तमान संविधान बनेको उल्लेख गर्दै उनले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए ।
नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उनले वर्तमान संविधानलाई पनि अन्त्य गरी मुलुकलाई पुनः अँध्यारोतर्फ धकेल्न नदिइने उल्लेख गरे ।
लोकतन्त्रमा कमीकमजोरीलाई पनि सुधार गर्दै जान सकिने बताउँदै उनले यसमा नागरिक सर्वोपरि हुने स्पष्ट पारे ।





























प्रतिक्रिया