काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।
गएको चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहाई नगरे सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले आइतबार बिजुलीबजारमा प्रदर्शन गर्ने भएको हो ।
दिउँसो १२ बजेबाट सुरु हुने भनिएको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् ।
तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित परेपछि राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ । यसअघि २६ चैतमा राप्रपाले बल्खुमा सभा गरेको थियो । वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरिसकेको छ ।
शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसर पारेर राप्रपाका अध्यक्ष लिङ्देनसहितका केही शीर्ष नेताहरूसँग निर्मल निवासमा लञ्च मिटिङ गरेका थिए । करिब डेढ घण्टा लामो छलफलमा उनले पछिल्लो समय राजतन्त्रको पक्षमा जनमत बढ्दै गइरहेको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा राजावादी धारहरू एकजुट नहुनु दुर्भाग्यपूर्ण रहेको धारणा राखेका थिए। लञ्च मिटिङमा राप्रपा पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत पनि सहभागी थिए ।
तर, यता राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले संविधानको ठाडो उल्लंघन गर्न प्रोत्साहन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ। ‘यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने ब्योहरा सूचित गरिन्छ। साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।





























प्रतिक्रिया