विराटनगर
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्त सम्ममा तीन वटै तहमा कर्मचारी समायोजन भइसक्ने वताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कर्मचारी समायोजन सम्बन्धी अध्यादेश मन्त्रिपरिषदमा छलफल भएर परामर्शका लागि लोकसेवा आयोगमा पठाइएको छ, त्यो अध्यादेश पारित भएर ऐनका रुपमा आएपछि तीन वटै तहमा देखिएको कर्मचारी सम्बन्धी समस्या समाधान हुनेछ ।’
मन्त्री पण्डितले समायोजनमा कर्मचारीलाई प्रोत्साहन दिइएको उल्लेख गर्दै प्रदेश लोकसेवा ऐन नबनुञ्जेल सङ्घीय लोकसेवा आयोगले आवश्यक पदपूर्ति खुला गरी कर्मचारी खटाउने बताए ।
प्रदेशका मन्त्रालयमा अस्थायी रुपमा विज्ञताका आधारमा सचिव सरुवा गरिएको स्पष्ट पार्दै उनले कर्मचारी ऐन आएपछि निश्चित अवधि पूरा नभएसम्म सरुवा–बढुवा नहुने जानकारी दिए । एक प्रश्नको जवाफमा उनले सरकारले उपलब्ध गराएको बाहेक अन्य केही पनि सुविधा आफूले नलिएको बताए ।
रासस































प्रतिक्रिया