फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । आगलागीमा जलेर मृत्यु भएकाको पहिचान पनि खुलेकाे छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडा नं १० बस्ने १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षीय बिनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४५ वर्षीय दुर्गा भट्टराई रहेका छन्।
आध्याकी आमा ललितपुर बस्ने ४५ वर्षीया सविना आचार्य र सविनाका छोरा १० वर्षीय अभियम आचार्यलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ। उनीहरुकाे अवस्था गम्भीर छ ।
आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ ।





























प्रतिक्रिया